काठमाडौं । विद्युतीयर कार निर्माता टेस्लाका मालिक एलन मस्क ४०० अर्ब डलर हुने विश्वकै पहिलो व्यक्ति बनेका छन् ।
उनको सम्पत्ति एकैदिन ६३ अर्ब डलरले बढेर ४०० अर्ब डलर नाघेको हो । ब्लुमबर्ग बिलेनियर इन्डेक्स अनुसार बिहीबार उनको कुल सम्पत्ति करिब ४४० अर्ब डलर पुगेको छ । यो माइक्रोसफ्टका संस्थापक बिल गेट्स र अमेजनका जेफ बेजोस दुवैको कुल सम्पत्ति भन्दा पनि धेरै हो ।
बुधबार टेस्लाको सेयर मूल्य रेकर्ड ब्रेकिङ स्तरमा वृद्धि भएर ४२० अमेरिकी डल पुगेको छ । उक्त कम्पनीमा रहेको मस्कको १२.८ प्रतिशत सेयरको मूल्य मात्र करिब १७२ अर्ब बराबर छ ।
यसै साता, लगानीकर्ताले मस्कको रकेट तथा भू-उपग्रह कम्पनी स्पेसएक्समा १.२५ अर्ब अमेरिकी डलरको सेयर किनेका छन् । यसले स्पेसएक्सलाई ३५० अर्ब अमेरिकी डलरको मूल्यांकनसहित विश्वकै सबैभन्दा मूल्यवान स्टार्टअप बनाएको छ ।
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्पको जितपछि मस्कको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको हो । ट्रम्पको जितपछि मात्रै मस्कको सम्पत्ति १०० अर्ब डलरभन्दा धेरैले बढेको छ ।
सन् २०२४ मा एलन मस्कको कुल सम्पत्ति करिब २१८ अर्ब डलरले बढेको छ । जुन विश्वका बाँकी धनी व्यक्तिहरूको तुलनामा सबैभन्दा बढी हो।