‘कृत्रिम अभाव’ गराई सिमेन्टको मूल्य वृद्धि, फिर्ता लिन व्यापारीको माग

काठमाडौं । निर्माणको सिजनमै कृत्रिम अभाव गराई सिमेन्टको मूल्य वृद्धि गरिएको भन्दै निर्माण सामग्री बिक्रेताहरूले मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् ।

नेपाल निर्माण सामग्री व्यापार संघले एक विज्ञप्ति जारी गर्दै सिमेन्टको मूल्य वृद्धि फिर्ता लिन माग गरेको हो ।

‘बजारमा मागको तुलनामा आपूर्ति कम गरी कृत्रिम अभाव सृजना गराई उद्योगीहरूले मनामानी ढंगले सिमेन्टको मूल्य वृद्धि गरेको हुनाले यसलाई फिर्ता गरिदिन माग गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ।

सिमेन्ट उत्पादकहरूले अग्रिम भुक्तानी गरिसकेका सिमेन्ट उपलब्ध गराउन समेत सहमत नभएकाले आफूहरू निजी घर तथा भवन निर्माणकर्तालाई सिमेन्ट दिन नसकेको उनीहरूको भनाइ छ।

उनीहरूले बजारमा सिमेन्टको मागलाई कमी हुन नदिनका साथै निर्माण सामग्री व्यापारी पनि उत्पादक कम्पनीको आधारस्तम्भ भएकाले सुमधुर सम्बन्ध राख्न आग्रह गरेको छ। आफ्ना मागहरू आगामी मंगलबारसम्म सम्बोधन गरिदिन व्यापारीहरूले आग्रह गरेका छन् ।

यसअघि निर्माण व्यवसायी महासंघले मूल्य वृद्धि फिर्ता लिन आग्रह गरेको थियो । सिमेन्टको भाउ महँगिदा निर्माण गतिविधि प्रभावित भई अर्थतन्त्रमै असर पर्ने महासंघले बताएको छ ।

निर्माणको सिजन सुरु भए पछि उद्योगीहरूले एकाएक मूल्य बढाएका थिए । पछिल्लो १ महिनामा मात्रै सिमेन्टको मूल्य प्रतिबोरा डेढ सयसम्म बढाएका छन् ।

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति Read Previous

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

कामपाद्धारा एग्रो पुलिङ कार्यविधि पारित, आफैं तरकारी र खाद्यान्न बिक्री गर्नसक्ने Read Next

कामपाद्धारा एग्रो पुलिङ कार्यविधि पारित, आफैं तरकारी र खाद्यान्न बिक्री गर्नसक्ने