काठमाडौं । सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
आइतबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप ४ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
रविलाई हिरासतमा राख्न म्याद थपिएको यो छैटौंपटक हो । कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ४ गते पहिलोपटक ५ दिन थुनामा अनुमति दिइएको थियो ।
त्यसपछि फेरि ७ दिनको म्याद थपिएको थियो । तेस्रोपटक कात्तिक २० गते थप १० दिनका लागि म्याद थपिएको थियो भने चौथोपटक कात्तिक २५ गते १५ दिनका लागि म्याद थपिएको थियो । त्यस्तै, मंसिर ९ गते पाँचौं पटक १५ दिनका लागि म्याद थपिएको थियो ।
लामिछाने माथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।