नेप्सेमा उच्च अंकको गिरावट, परिसूचक फेरि २७०० बिन्दु तल झर्यो

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । गत बुधबारदेखि लगातार दोहोरो अंकले ओरालो लागेको नेप्से आज झण्डै ४६ अंकले घटेको हो ।

आइतबार नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ बिन्दुमा आइपुगेको छ । यस दिन ३२१ कम्पनीको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर किनबेच भएको छ ।

सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झण्डै १ अर्ब रुपैयाँले घटेर ७ अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको छ ।

कारोबारमा आएका १३ वटै समूहकाे परिसूचक राताम्मे भएको छ । जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३.०७ प्रतिशतले घटेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ३२ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल फाइनान्स र रिभर फल्स पावरको समान साढे १६ करोड बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये २७ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको मूल्य घटेको छ ।

आज खानीखोला हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ९.९८ प्रतिशत कमाएका छन् ।

घट्दो बजारमा ३ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागेको छ । मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन र जोशी हाइड्रोपावरका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

बुद्ध एयरले ल्यायो १९ औं एटीआर विमान Read Previous

बुद्ध एयरले ल्यायो १९ औं एटीआर विमान

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति Read Next

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति