कामपाद्धारा एग्रो पुलिङ कार्यविधि पारित, आफैं तरकारी र खाद्यान्न बिक्री गर्नसक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘एग्रो पुलिङ कार्यविधि, २०८१’ स्वीकृत गरेको छ । आइतबार बसेको महानगरपालिकाको ३७औँ कार्यपालिका बैठकले उक्त कार्यविधि पारित गरेको हो ।

कार्यविधि पारित भएसँगै महानगरले अन्य स्थानीय तहसँग सहकार्य गरी उक्त क्षेत्रमा उत्पादित कृषि तथा खाद्यान्न वस्तुको बिक्री र वितरण गर्ने व्यवस्था समेटिएका छन् ।

साथै, महानगर आफैंले पनि तरकारी तथा फलफूलको व्यापार गर्न सक्ने बाटो खुलेको छ । कार्यविधिमा महानगर आफैँले पनि खाद्यान्न तथा तकारी व्यापारका लागि कम्पनी खोल्न सक्ने व्यवस्था गरिएको छ ।

एग्रो पुलिङ महानगरपालिकाको स्वर्णिम योजना हो । अन्य पालिका र साझेदारसँगको सहकार्यमा महानगरवासीलाई गुणस्तरीय, स्वच्छ, ताजा खाद्यान्न तथा कृषिजन्य उत्पादन उचित मूल्यमा उपलब्ध गराउन उत्पादन तथा बिक्री वितरण गर्ने व्यवस्था कार्यविधिमा समेटिएका छन् ।

कार्यविधि अनुसार महानगरले कृषि उत्पादनका पकेट क्षेत्र पहिचान गरिएका स्थानीय तहसँग अर्गानिक खाद्यवस्तु उत्पादन गर्ने र वितरणका लागि महानगरभित्रका कृषि सहकारी वा कम्पनीसँग सम्झौता गर्नेछ ।

उत्पादकले गुणस्तरीय खाद्यान्न उत्पादन गर्ने, गुणस्तर परीक्षण गर्ने र महानगरपालिकामा भएको वितरकसम्म ढुवानी गर्ने काम गर्नेछ । उत्पादन, प्रशोधन तथा ढुवानीमा लाग्ने खर्च सम्बन्धित पालिकाले स्वीकृत गरेको दरमा गर्नुपर्नेछ । महानगरपालिकाले ‘प्रविधि’, ‘अनुदान’, ‘जनशक्ति’ र ‘भौतिक सामान’ सहयोग उपलब्ध गराउन सक्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

वितरकले महानगरपालिकाले स्वीकृत गरेको दररेटमा सामान बिक्री वितरण गर्नेछ । खाद्यान्न भण्डारण गर्ने, गुणस्तर परीक्षण गर्ने, प्याकेजिङ गर्ने, लेबलिङ गर्ने र विक्री वितरण गर्ने काम वितरकको हुनेछ । यसबाट किसानहरूले उचित मूल्य पाउने र उपभोक्ताले गुणस्तरीय खाद्यान्न प्राप्त गर्ने अवस्था सुनिश्चित हुने महानगरको विश्वास छ ।

उत्पादनलाई ८ समूहमा वर्गीकरण

कार्यविधि अनुसार पकेट क्षेत्रमा उत्पादन हुने वस्तुलाई विभिन्न ८ समूहमा वर्गीकरण गरिएको छ । समूहमा गुण मिल्ने अन्य खाद्यवस्तु समावेश हुन सक्ने व्यवस्था छ । यसअनुसार चामल, गहुँ, मकै, कोदो फापर एउटा समूहमा छन् । मास, मुसुरो, रहर र मुङ दाल दोस्रो समूहमा छन् । तेस्रो समूहमा सिमी, भटमास, गहत र बोडी राखिएको छ भने आलु, तरुल, पिँडालुजस्ता खाद्यान्न चौथो समूहमा छन् ।

त्यसैगरी, लसुन, प्याज, अदुवा, बेसार, खुर्सानी, टिमुर पाँचौँ, तेल, घिउ र दुग्धजन्य पदार्थ छैटौं समूहमा छन् । माछा, अण्डा, कुखुरा, खसी र राँगाको मासु सातौँ र मौसमी हरियो तरकारी र फलफूल आठौँ समूहमा राखिएको छ ।

'कृत्रिम अभाव' गराई सिमेन्टको मूल्य वृद्धि, फिर्ता लिन व्यापारीको माग Read Previous

'कृत्रिम अभाव' गराई सिमेन्टको मूल्य वृद्धि, फिर्ता लिन व्यापारीको माग

आर्थिक सुधार सुझाव आयोगले वीरगञ्जका उद्योगीबाट लियो सुझाव Read Next

आर्थिक सुधार सुझाव आयोगले वीरगञ्जका उद्योगीबाट लियो सुझाव