काठमाडौं । नेपाल राष्ट्र बैंकले झण्डै ४ अर्ब रुपैयाँ रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकले एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषमा रहेको ४ अर्ब ३७ करोड रुपैयाँ मुद्दतीमा राख्ने जानकारी गराएको हो ।
केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको हो । राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा ३ अर्ब ४९ करोड ६० लाख, राष्ट्रियस्तरका विकास बैंकहरूमा ६५ करोड ५५ लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरूमा २१ करोड ८५ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ ।
राष्ट्र बैंकले उक्त रकम ३६६ दिनको अर्थात् २०८१ पुस २ गतेदेखि २०८२ पुस २ गतेसम्मका लागि उक्त रकम मुद्दतीमा राख्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी मंसिर २३ गते साँझ ७ बजेसम्म आवेदन बुझाउन सक्नेछन् ।
बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष अनुपात कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्नेछ । कर्जा, निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेर शर्त पूरा गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।