काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनाको अवधिमा १५८ वटा अन्तर्राष्ट्रिय उडान अवतरण भएको छ ।
कात्तिक १८ गतेदेखि मंसिर १८ गते (३ नोभेम्ब-३ डिसेम्बर)सम्म उक्त विमानस्थलबाट ७८ अन्तर्राष्ट्रिय उडान र ७८ अवतरण भएको हो ।
गौतमबुद्ध विमानस्थल कार्यालयका अनुसार यस अवधिमा ५ एयरलाइन्स कम्पनीले उक्त उडान अवतरण गरेका हुन् । यूएईको फ्लाइ दुबईले सबैभन्दा धेरै २५ उडान र २५ अवतरण गरेको छ ।
त्यसैगरी, कतार एयरवेजले ३८ (१९ उडान र १९ अवतरण), नेपाल एयरलाइन्सले २४ (१२ उडान र १२ अवतरण), जजिराले १० (५ उडान र ५ अवतरण) र थाई एयर एसियाले १० (५ उडान र ५ अवतरण) गरेका छन् ।

यस अवधिमा भैरहवामा १२ वटा (६ उडान र ६ अवतरण) अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको छ ।
झण्डै ५ हजारले गरे यात्रा
१ महिनाको अवधिमा गौतमबुद्ध विमानस्थलबाट झण्डै ५ हजार यात्रुले अन्तर्राष्ट्रिय उडान गरेका छन् । विमानस्थल कार्यालयका अनुसार १ महिनामा ४ हजार ७७१ यात्रुले भैरहवा विमानस्थलबाट सेवा लिएका हुन् ।
जसमा २ हजार २३८ यात्रु भैरहवाबाट विदेश उडेका थिए भने २ हजार ५३३ यात्रु विदेशबाट भैरहवा आएका थिए । यस अवधिमा भैरहवालाई ट्रान्जिट बनाएर ५ हजार ४ सय ६७ यात्रु उडेका छन् ।
वायुसेवा कम्पनीहरूले काठमाडौं आउने यात्रुलाई भैरहवा हुँदै ल्याएका कारण ट्रान्जिट संख्या बढेको हो । कात्तिक २३ गतेदेखि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द गरी स्तारोन्नतिको काम भइरहेको छ ।