काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकको रूपमा एनसेललाई स्वागत गरेको छ ।
हिल्टन काठमाडौंमा आज (आइतबार) आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो ।
सम्झौतापत्रमा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले हस्ताक्षर गरे ।
लुम्बिनी लायन्सका ब्राण्ड एम्बेसडर राजेश हमाल, कप्तान रोहित पौडेल, बेलायतका क्रिकेटर टम मुर्स लगायत अन्य अन्तर्राष्ट्रिय खेलाडीहरू पनि उपस्थित रहेका थिए । यो साझेदारीले लुम्बिनी लायन्स क्लबको आगामी सिजनमा थप ऊर्जा र उत्साह भर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा लुम्बिनी लायन्सले एनपीएलमा लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो । लुम्बिनी लायन्सका अध्यक्ष जीसीले यो सहकार्यले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
‘एनसेलजस्तो अन्तर्राष्ट्रिय स्तरको एवम् नेपालकै अग्रणी निजी दूरसञ्चार सेवा प्रदायकसँग मुख्य प्रायोजकको रूपमा जोडिन पाउँदा हामी अत्यन्त आभारी छौँ । यो सहकार्यले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौँ । एनसेल जस्तो प्रतिष्ठित ब्रान्डको समर्थनले हाम्रो टोलीलाई अझ सशक्त बनाउनेछ र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउनेछ,’ उनले भने ।