काठमाडौं । निर्जीवन बीमा व्यवसायमा सुधार आएको छ । गत आर्थिक वर्षको कात्तिकको तुलनामा चालु आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीको प्रिमियम संकलन १२.६४ प्रतिशतले बढेको हो ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आवको कात्तिकसम्म १४ निर्जीवन र ४ निर्जीवन लघु बीमा गरी १८ कम्पनीले १४ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १ अर्ब ६१ करोड १५ लाख रुपैयाँ धेरै हो । गत वर्ष कात्तिकमा निर्जीवन बीमा कम्पनीले कुल १२ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।
चालु आवको कात्तिकसम्म १४ निर्जीवन बीमा कम्पनीले कुल १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ र ४ निर्जीवन लघुबीमा कम्पनीले २६ करोड १४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । कात्तिक महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब ९६ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
चालु आवको कात्तिकसम्म निर्जीवन बीमा कम्पनीहरूले कुल ९ लाख ९८ हजार ५९६ वटा पोलिसी बिक्री गरेका छन् । यो गत वर्षको कात्तिककोभन्दा १ लाख ४ हजार ७१ वटा धेरै हो । गत वर्ष कात्तिकमा ८ लाख ९४ हजार ५२४ वटा पोलिसी बिक्री गरेका थिए ।
पछिल्लो समय अर्थतन्त्रमा क्रमशः सुधार देखिन थालेसँगै निर्जीवन बीमा व्यवसायमा पनि सुधार आएको हो । गत वर्ष माघसम्म घट्दो क्रममा रहेको निर्जीवन बीमा व्यवसायमा फागुनदेखि क्रमशः सुधार हुँदै आएको छ ।
मुख्यगरी निर्जीवन बीमा व्यवसायको एकतिहाई हिस्सा ओगट्ने सवारीसाधनको बिक्रीमा सुधार आउँदा समग्र बीमा व्यवसायमा सुधार आएको हो । त्यस्तै, सम्पत्ति बीमा गर्ने बढ्दा पनि व्यवसायमा सुधार देखिएको हो ।
यद्यपि, यस वर्ष बीमा कम्पनीहरूले व्यवसाय बढाए पनि दायित्व पनि ह्वात्तै बढेको लछ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण ११ अर्ब रुपैयाँ बढीको दाबी परेको छ । यो बीमा कम्पनीहरूको ३ महिनाको व्यवसाय बराबर हो ।
सगरमाथाले शिखरलाई उछिन्यो
निर्जीवन बीमा कम्पनी मध्ये व्यवसाय लिड गर्न मुख्य ३ कम्पनीहरू बीच मुख्य प्रतिस्पर्धा देखिएको छ । शिखर, सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियर बीच कडा टक्कर देखिएको हो ।
निर्जीवन बीमा व्यवसायमा आफ्नो वर्चश्व राख्दै आएको शिखरलाई यसपटक सगरमाथा लुम्बिनी (सलिको)इन्स्योरेन्सले उछिनेको छ । कात्तिकसम्म सलिकोले सबैभन्दा धेरै १ अर्ब ७७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै, सिद्धार्थ प्रिमियरले पनि व्यवसायमा शिखरलाई उछिनेको छ । १ अर्ब ४६ करोड बीमा शुल्क उठाउँदै सिद्धार्थ प्रिमियर दोस्रो धेरै व्यवसाय गर्ने कम्पनी बनेको छ ।
विगतमा व्यवसायमा पहिलो स्थानमा रहँदै आएको शिखर कात्तिकमा तेस्रो स्थानमा पुगेको छ । शिखरले १ अर्ब ४१ करोड लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
कात्तिकसम्म हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १५ करोड, नेको १ अर्ब १५ करोड, आइजीआइ प्रुडेन्सियल १ अर्ब १३ करोड, युनाटेड अजोड ८४ करोड, एनएलजी ९४ करोड, सानिमा जीआइसी ७८ करोड, प्रभु साढे ६१ करोड, राष्ट्रिय बीमा कम्पनी साढे ६१ करोड, दी ओरियन्टल साढे ९३ करोड र नेपाल इन्स्योरेन्सले साढे ७८ करोड रुपैयाँ बीमा शुलक संकलन गरेको छ ।
कात्तिकसम्म नेशनलले सबैभन्दा कम ४९ करोड रुपैयाँको व्यवसाय गरेको छ ।
व्यवसाय बढाउँदै लघुबीमा कम्पनी
लघुबीमा कम्पनीहरूले पनि आफ्नो व्यवसाय बढाउँदै लगेका छन् । गत असारसम्म कुल निर्जीवन बीमा व्यवसायमा लघुबीमा कम्पनीहरूको हिस्सा १ प्रतिशतभन्दा कम रहँदै आएकोमा चालु आवको कात्तिक आइपुग्दा झण्डै २ प्रतिशत पुर्याएका छन् ।
४ निर्जीवन लघुबीमा कम्पनीले कात्तिकसम्म २६ करोड १४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो कुल निर्जीवन बीमा व्यवसायको १.८२ प्रतिशत हो ।
अघिल्लो वर्षदेखि संचालनमा आएका लघुबीमा कम्पनीहरूले क्रमशः आफ्नो व्यवसाय बढाउँदै लगेका हुन् । कात्तिकसम्म नेपाल माइक्रो इन्स्योरेन्सले ७ करोड ९० लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ६ करोड ४१ लाख, स्टार माइक्रो इन्स्योरेन्सले ५ करोड ८९ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ५ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।