बागमती प्रदेशका साढे १३ लाख स्वास्थ्य बीमामा आबद्ध

बागमती । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा बागमती प्रदेशका ४ लाख ७० हजार २५६ परिवारका १३ लाख ६५ हजार ३६२ जना आबद्ध भएका छन् ।

उक्त तथ्याङ्क विसं २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएयता हालसम्मको रहेको स्वास्थ्य बीमा बोर्ड मकवानपुरका प्रमुख नरबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी चितवनमा ७२ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध भएका छन् भने सबै भन्दा कम काठमाडौँमा ६ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध भएका छन् ।

चितवनमा १ लाख ७९ हजार ३४५ परिवारमध्ये १ लाख २९ हजार ४३८ परिवार बिमित हुँदा काठमाडौँमा ५ लाख ४४ हजार ८६७ परिवारमध्ये ३० हजार ४२० परिवार मात्र स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएको प्रमुख खड्काले बताए ।

भक्तपुरको ६६ हजार ९५६ परिवार, मकवानपुरको ५४ हजार ५२३ परिवार बीमामा आबद्ध भएको तथ्याङ्क छ । काभ्रेपलाञ्चोकका ४३ हजार ३५६ परिवार, नुवाकोटमा २३ हजार १६७ परिवार, सिन्धुपाल्चोकमा १७ हजार ६३० परिवार, सिन्धुलीमा २७ हजार ७५८ परिवार, रामेछापमा २१ हजार १६५ परिवार, दोलखामा १५ हजार ६०८ परिवार, धादिङमा २५ हजार ८३८ परिवार, रसुवामा ४ हजार ७६५ परिवार र ललितपुरमा ९ हजार ६३२ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएको प्रमुख खड्काले बताए।

कार्यालयमा बीमा दर्ताका लागि नयाँ आवेदन पनि आइरहेको स्वास्थ्य बीमा बोर्ड कार्यालयले जनाएको छ । मकवानपुरमा स्वास्थ्य बीमा बोर्डले जिल्लाको सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बिमितहरुको नाम दर्ता गराउँदै आएको छ ।

स्वास्थ्य बीमा गराएकाले जिल्लाको आठ स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिँदै आएका छन् । हेटौँडा अस्पताल, मनहरी आधारभूत अस्पताल, हेटौँडा सामुदायिक आँखा अस्पताल, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र, भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्र, बकैया आधारभूत अस्पताल, राक्सिराङ आधारभूत र सिएम सि चुरेहिल अस्पताल प्राली हेटौँडाबाट स्वास्थ्य बीमा गरेकाले सेवा लिँदै आएका छन् ।

हिउँदे खेती गर्न मल अभाव, कृषक समस्यामा Read Previous

हिउँदे खेती गर्न मल अभाव, कृषक समस्यामा

परराष्ट्रमन्त्री डा. राणा चीन प्रस्थान Read Next

परराष्ट्रमन्त्री डा. राणा चीन प्रस्थान