हिउँदे खेती गर्न मल अभाव, कृषक समस्यामा

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–५ का हरिप्रसाद डगौराले चार बिघा जग्गामा गहुँखेती गर्ने तयारी गर्नुभएको धेरै भयो । पश्चिम तराईका जिल्लामा मङ्सिर पहिलो हप्ताभित्रमा खेतमा गहुँ छरिसक्नुपर्ने बताउने उनको दैनिकी आजभोलि  रासायनिक मलको खोजीमा बितिरहेको छ ।

भजनीलगायत आसपासका बजारमा मलको खोजीमा रहेका उनलाई मल नपाइएपछि गहुँखेती गर्न नपाइने होकी भन्ने चिन्ताले सताउन थालेको छ । ‘खेतमा पहिलेदेखि नै रासायनिक मल प्रयोग गर्दै आएकाले मल नहालेर उब्जनी हुँदैन,’ उनी भन्छन्, ‘दिनभर मलका लागि दौडधुप हुन्छ, साँझ रित्तो घर फर्कनुपरेको छ ।’

स्थानीय बजारमा मलको सहज आपूर्ति नहुँदा हरिप्रसादजस्तै भजनीका कैयौँ किसानले अझै खेती लगाउन सकेका छैनन् । गहुँखेती गरेका किसानहरू पनि मल नपाएर तनावमा रहेका छन् । समयमा मल नपाएपछि मल नहालेरै गहुँ छरेका लक्ष्मण चौधरीको समस्या पनि उस्तै छ । उनले नौ बिघा क्षेत्रफलमा गहुँ लगाएका छन् ।

‘नेपाली बजारमा मल कतै पाइँदैन । पाइए पनि एक कट्टा मल पाइन्छ, नौ बिघा खेतमा त्यो एक कट्टाले कसरी पुर्याउनु ?’ उनी भन्छन्,– ‘भारतीय बजारबाट व्यवहार हेरेर किसानलाई आफ्नो प्रयोगको लागि मल ल्याउन दिएको भए पनि सहज हुन्थ्यो ।’

भारतीय बजारमा मल उपलब्ध भए पनि सीमा प्रहरीले रोक लगाउने गरेको किसानहरुको गुनासो छ । व्यावसायिक प्रयोजनको लागि नभई व्यक्तिगत प्रयोजनको लागि भारतीय बजारबाट मल ल्याउन पाउनुपर्ने माग किसानले गर्दै आएका छन् ।

सरकारले किसानलाई खेतीको समयमा सहज रूपमा मल उपलब्ध गराउन नसकेको जुगराम डगौरा बताउँछन् । ‘कृषिमा राज्यले ठूलो लगानी गर्दै आएको बताउँछ, तर किसानले पैसा तिरेरै पनि समयमा मल पाउने स्थिति छैन,’ उनले भने ।

भजानी नगरपालिका कृषिका लागि उर्बर हो । त्यहाँका अधिकांश नागरिकहरू कृषि पेसामा आबद्ध छन् । बाढी र डुबानका कारण बर्र्सातको खेती अधिकांश किसानले  गर्दैनन् । हिउँदे खेती त्यहाँका किसानको मुख्य आयस्रोत हो । स्थानीय बजारमा मल नभेटेपछि भारतबाट दुई कट्टा मल ल्याएर आएका सुन्दर चौधरीले मल प्रहरीले नियन्त्रणमा लिएर भन्सार पुगेको गुनासो सुनाए ।

किसानले मल नपाएको गुनासो आएपछि भजनी नगरपालिकाले सरोकारवाला निकायसँग छलफल गरेको छ । नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष विक्रम चौधरी सरकारले अनुदानमा छुट्याइएको मलको कोटाअनुसार भजनीका एक तिहाइ किसानको माग पूरा नहुने बताउँछन् ।

उनी भन्छन्,– ‘किसानको मागअनुसार मलको उपलब्धता हुने हो भने २५ देखि ३५ हजार क्विन्टल मल आवश्यक पर्छ ।’ किसानले एकदुई बोरा मल भारतीय बजारबाट खेतको लागि ल्याउँदा त्यसलाई अवरोध सुरक्षा निकायले गर्न नहुनेमा जोड दिएका छन् । नगरपालिकाका नगर प्रमुख केवल चौधरीले मलको समस्या बर्सेनि किसानले झेल्दै आएको बताउँदै समाधानका लागि नगरपालिकाले प्रयास गर्दा पनि सफल हुन नसकिएको बताए। रासस

बीच सडकमै कन्टेनर पल्टिँदा पूर्व-पश्चिम राजमार्ग अवरूद्ध Read Previous

बीच सडकमै कन्टेनर पल्टिँदा पूर्व-पश्चिम राजमार्ग अवरूद्ध

बागमती प्रदेशका साढे १३ लाख स्वास्थ्य बीमामा आबद्ध Read Next

बागमती प्रदेशका साढे १३ लाख स्वास्थ्य बीमामा आबद्ध