काठमाडौं । कतार एयरवेजले भोलि (कात्तिक २७ गते) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कतार एयरवेजलाई भैरहवामा दैनिक एउटा उडान गर्न आइतबार अनुमति दिएको हो ।
क्यानका अनुसार अब कतार एयरवेजले दोहा-भैरहवा-काठमाडौं-दोहा दैनिक एउटा उडान गर्नेछ । कतारको दोहाबाट आएको जहाज दिउँसो २:४५ बजे भैरहवा अवतरण गर्ने उडान तालिका छ । सोही जहाज अपराह्न ४:४५ बजे काठमाडौं आउने र ६:५५ बजे काठमाडौंबाट दोहा उड्ने छ ।
कतार एयरवेजले हाल कतार-काठमाडौं दैनिक ३ वटा उडान गर्दै आइरहेको छ ।
कतार एयरवेज थपिएसँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सको संख्या ५ पुगेको छ । हाल नेपाल एयरलाइन्स, फ्लाइ दुबई, जजिरा र थाइ एयर एशियाले भैरहवा विमानस्थलमा उडान गरिरहेका छन् ।