काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ग्रेड घटुवा भएको छ । विश्व चर्चित अमेरिकी पत्रिका ग्लोबल फाइनान्सले सार्वजनिक गरेको ‘सेन्टर बैंकर रिपोर्ट कार्ड २०२४’ अनुसार अधिकारीले ‘सी प्लस’ ग्रेड पाएका हुन् ।
सन् २०२३ मा अधिकारीले ‘बी माइनस’ ग्रेड पाएका थिए । गत वर्ष अधिकारीको ग्रेडमा सुधार भए पनि यस वर्ष फेरि घटुवा भएको हो । सन् २०२२ मा पनि ग्लोबल फाइनान्सले अधिकारीलाई ‘सी’ ग्रेड दिएको थियो ।
एसिया प्रशान्त क्षेत्रमा सबैभन्दा कमजोर ग्रेड पाउनेमा अधिकारी दोस्रोमा पर्छन् । म्यानमारका गभर्नरले अधिकारीको भन्दा कमजोर अर्थात् एफ रेटिङ पाएका छन् ।
ग्लोबल फाइनान्सले अर्थतन्त्र सुधार्न, महँगी नियन्त्रण गर्न लगायत काममा केन्द्रीय बैंकले खेलेको भूमिकाका आधारमा गभर्नरहरूलाई ग्रेड दिने गर्छ । यी कार्यका लागि यस वर्ष गभर्नर अधिकारीको भूमिका कमजोर देखिएको छ ।
नेपाल राष्ट्र बैंकले मूल्य वृद्धिसँग लड्न र वैदेशिक मुद्रा सञ्चितिको दबाब कम गर्न कसिलो मौद्रिक नीति ल्याएको ग्लोबल फाइनान्सले उल्लेख गरेको छ ।
डिसेम्बरमा राष्ट्र बैंकले नीतिगत ब्याजदर एक प्रतिशत घटाएको थियो। कोभिड–१९ महामारीको समयमा बैंकहरूबाट प्रवाह हुने कर्जामा उच्च वृद्धि भएपछि राष्ट्र बैंकले नीतिगत ब्याजदरमा कडाइ गरेको थियो। यही कारण कर्जाको वृद्धिदर सन् २०२२ मा १३.३ प्रतिशत रहेकोमा घटेर ४.६ प्रतिशतमा सीमित भएको बताइएको छ।
नेपालमा मूल्य वद्धिदरमा भने सुधार भइरहेको बताइएको छ। गत वर्ष ६.४ प्रतिशत रहेको मुद्रास्फीति यस वर्ष ५.६ प्रतिशतमा झरेको उल्लेख छ । एसियाली विकास बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धि ३।६ प्रतिशत हुने प्रक्षेपण गरेको छ।
भारतसहित तीन देशका गर्भनर विश्वकै उत्कृष्ट
यस वर्ष भारतसहित विश्वका तीन देशका गर्भनरहरूले विश्वकै उत्कृष्ट बैंकर अर्थात् ‘ए प्लस’ ग्रेड पाएका छन् । भारत, स्वीट्जरल्याण्ड र डेनमार्कका गभर्नरले ए प्लस ग्रेड पाएका हुन् ।जसमा भारतको केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दास, स्वीट्जरल्याण्डका थोमस जे जोर्डन र डेनमार्कका क्रिष्टियन केटल थोमसन रहेका छन् ।
यसैगरी, यस वर्ष विश्वका ७ देशका गभर्नरले ए ग्रेड पाएका छन् । ब्राजिलका रोबर्टो फिल्ड्स नेट, चिलीका रोसना कोष्टा, मौरिससका हरवेश कुमार सिगोलम, मोरोक्कोका अब्डेल्लाटिफ जौहरी, दक्षिण अफ्रिकाका लेसेट्जा क्गान्यागो, श्रीलंकाका नडालाल वीरसिंगे र भेतनामका न्गुयेन थाइ होङले ए ग्रेड पाएका छन् ।
ग्लोबल फाइनान्स पत्रिकाले सन् १९९४ देखि हरेक वर्ष केन्द्रीय बैंकर रिपोर्ट कार्ड प्रकाशित गर्दै आएको छ । यसले युरोपेली संघ, पूर्वी क्यारिबियन केन्द्रीय बैंक, मध्य अफ्रिकी देशहरूका सेन्ट्रल बैंक र पश्चिम अफ्रिकी राष्ट्रहरूको केन्द्रीय बैंक सहित विश्वका १०१ वटा प्रमुख देश र क्षेत्रहरूका केन्द्रीय बैंकका गभर्नरहरूलाई ग्रेड दिँदै आएको छ ।
मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, मुद्रा स्थिरता र ब्याज दर व्यवस्थापनमा सफलताको लागि ‘ए’ देखि ‘एफ’सम्म ग्रेड प्रदान गरेको छ । जसमा एले उत्कृष्ट प्रदर्शन र एफले पूर्ण रूपमा असफलतालाई जनाउँछ ।
