काठमाडौं । ग्लोबल आइएमई बैंकको खुद नाफामा सुधार आएको छ । बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफा ३१.७९ प्रतिशतले बढेकोे हो ।
बैंकले असोज मसान्तसम्म १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३७ करोड रुपैयाँ धेरै हो । बैंकले गत वर्ष असोजसम्म १ अर्ब १४ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटे पनि इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा सुधार आएको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.२२ प्रतिशतले घटेर ४ अर्ब ११ करोड रुपैयाँमा सीमित भएको छ । बैंकको सञ्चालन नाफा भने १९.४० प्रतिशतले बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकले ५ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको निक्षेप ५.२३ प्रतिशत र कर्जा लगानी ७.५५ प्रतिशतले बढेको हो ।
हाल ३६ अर्ब १२ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङमा १ अर्ब ९१ करोड रुपैयाँ । यस अवधिमा बैंकको जगेडा कोषमा भने २४ अर्ब ४९ करोड संचित छ । असोजसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड रुपैयाँ छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १२.७० रुपैयाँबाट बढेर १६.७४ रुपैयाँ पुगेको छ ।
असोजसम्म बैंकको प्रतिसेयर नेटवथ १७४.२ रुपैयाँ, बेसरेट ७.२९ प्रतिशत, सीडी रेसियो ७६.८ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा भने बढेर सीमा नजिक पुगेको छ । गत वर्ष ४.३८ प्रतिशत रहेको बैंकको खराब कर्जा यस वर्ष बढेर ४.६७ प्रतिशत पुगेको छ ।