काठमाडौं । लक्ष्मी सनराइज बैंकको खुद नाफामा उछाल आएको छ । बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफा ४२०.५३ प्रतिशतले बढेकोे हो ।
बैंकले असोज मसान्तसम्म ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ५ गुणाभन्दा धेरै अर्थात् ४३ करोड रुपैयाँ धेरै हो । बैंकले गत वर्ष असोजसम्म १० करोड ३४ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटे पनि संचालन नाफा बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा उल्लेख्य सुधार आएको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७५ प्रतिशतले घटेर २ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ । बैंकको सञ्चालन नाफा भने ४२५.२३ प्रतिशतले बढेर ७५ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकले ३ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको निक्षेप १.६८ प्रतिशत र कर्जा लगानी ३.११ प्रतिशतले बढेको हो ।
हाल २३ अर्ब १८ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङमा १ अर्ब ४९ करोड रुपैयाँ । यस अवधिमा बैंकको जगेडा कोषमा भने १७ अर्ब २७ करोड संचित छ । असोजसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ४९ करोड रुपैयाँ छ । यसबाट बैंकले प्रतिसेयर ६.४३ प्रतिशत लाभांश दिन सक्छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि पाँच गुणाले बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १.७८ रुपैयाँबाट बढेर ९.२५ रुपैयाँ पुगेको छ ।
असोजसम्म बैंकको प्रतिसेयर नेटवथ १८०.९५ रुपैयाँ, बेसरेट ७.७९ प्रतिशत, सीडी रेसियो ७७.१६ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा भने बढेर सीमा माथि पुगेको छ । गत वर्ष ४.६९ प्रतिशत रहेको बैंकको खराब कर्जा यस वर्ष बढेर ५.४४ प्रतिशत पुगेको छ ।