बैंकमा पैसा थुप्रिएपछि एकैदिन १ खर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज एकैदिन १ खर्ब रुपैयाँ खिच्ने भएको छ ।

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज निक्षेप संकलन बोलकबोलबाट १ खर्ब रुपैयाँ तान्ने भएको हो ।

राष्ट्र बैंकले १३ दिनका लागि उक्त रकम व्यवस्थापन गर्न लागेको हो । उक्त रकमको साँवा र ब्याज भुक्तानी कात्तिक १३ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने छन् । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड र बढीमा ५ करोडले भाग जाने गरी जति रकम पनि बोलकबोल गर्न सक्नेछन् ।

एकोहोरो निक्षेप थपिरहेको तर कर्जाको माग बढ्न नसक्दा बैंकिङ प्रणालीमा इतिहासकै धेरै अधिक तरलता कायम भएको छ । हाल प्रणालीमा साढे ६ खर्ब रुपैयाँ बढी तरलता थुप्रिएको छ । यससँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.४४ प्रतिशतमा झरेको छ ।

गत आवको कात्तिक यता ब्याजदर लगातार घट्दो क्रममा छ । राष्ट्र बैंकले पनि एकपछि अर्को लचकता अपनाउँदै आएको छ । तर, अर्थतन्त्रमा आएको मन्दी र व्यवसायीको मनोबल बढ्न नसक्दा कर्जाको माग बढ्न सकेको छैन । जसकारण पैसा बैंकिङ प्रणालीमै थुप्रिरहेको छ ।

गौशाला धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको पत्र Read Previous

गौशाला धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको पत्र

वीरगञ्जबाट मोटरसाइकल आयात ७७ प्रतिशतले बढ्यो Read Next

वीरगञ्जबाट मोटरसाइकल आयात ७७ प्रतिशतले बढ्यो