 
			काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली–२०८१’ संशोधन गरेको छ । राष्ट्र बैंकले गत असोज १ गतेदेखि लागू गरेको विनियमावली १ महिना नपुग्दै संशमेधन गरेको हो ।
बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्ने सम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन विनियमावली संशोधन गरिएको राष्ट्र बैंकले जनाएको छ ।
संशोधित विनियमावलीमा खाता रोक्का वा फुकुवासम्बन्धी प्रक्रियामा केही थप भएको छ । विनियमावलीमा प्रचलित कानुनबमोजिम कुनै कसुरको अनुसन्धानको सिलसिलामा अधिकार प्राप्त अधिकारीले राष्ट्र बैंकसमक्ष खाता रोक्का वा फुकुवाका लागि अनुरोध गर्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रचलित कानुनको अधीनमा रही कुनै इजाजतपत्रप्राप्त संस्थामा रहेको खाता रोक्का गर्नको लागि अधिकार प्राप्त अधिकारीले सो कानुनको व्यवस्था स्पष्ट उल्लेख गरी तोकिएका व्यहोरा खुलाई राष्ट्र बैंक समक्ष लिखित रुपमा अनुरोध गरेमा राष्ट्र बैंकले इजाजतपत्र प्राप्त संस्थालाई अविलम्ब खाता रोक्का गर्न निर्देशन दिन सक्ने व्यवस्था विनियमावलीमा गरिएको छ।
तर, सम्बन्धित विशेष ऐनले तोकेको अधिकार प्रयोग गरी अख्तियारप्राप्त निकायले इजाजतपत्र प्राप्त संस्थामा गरेको पत्राचार बमोजिम सोझै खाता रोक्का वा फुकुवा गर्न यस व्यवस्थाले बाधा पर्ने छैन । त्यस्तो पत्राचार बमोजिम कुनै खाता रोक्का वा फुकुवा भएमा सोको जानकारी इजाजतपत्र प्राप्त संस्थाले राष्ट्र बैंकलाई तत्काल उपलब्ध गराउनुपर्ने व्यवस्था पहिलो संशोधन मार्फत थप गरिएको छ ।
सम्बन्धित विशेष ऐनले तोकेको अधिकार प्रयोग गरी अख्तियारप्राप्त निकायले इजाजतपत्र प्राप्त संस्थामा गरेको पत्राचार बमोजिम सोझै खाता रोक्का वा फुकुवा गर्न यस व्यवस्थाले बाधा नपर्ने जनाएको छ । त्यस्तो पत्राचार बमोजिम कुनै खाता रोक्का वा फुकुवा भएमा सोको जानकारी इजाजतपत्र प्राप्त संस्थाले राष्ट्र बैंकलाई तत्काल उपलब्ध गराउनुपर्ने उल्लेख छ ।
बैंक खाता फुकुवा गरिने सम्बन्धमा ‘खाता फुकुवा गरिएको जानकारी राष्ट्र बैंकलाई तत्काल उपलब्ध गराउनुपर्नेछ’ भन्ने व्यवस्था थप भएको छ । राष्ट्र बैंकले अल्पकालीन अवधिको लागि खाता रोक्का गर्ने व्यवस्था समेत गरेको छ ।
‘विनियमावलीमा जुनसुकै कुरा लेखेको भएतापनि भूलवश वा कुनै कसुर गरी कुनै ब्यक्ति, फर्म, कम्पनी तथा संस्थाको खातामा रकम जम्मा गरिएको भन्ने इजाजतपत्रप्राप्त संस्थालाई लिखित-मौखिक जानकारी प्राप्त भएमा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले सो को यकीन गरी अल्पकालीन अवधिको लागि त्यस्तो खाता रोक्का गर्न सक्नेछन् । यसरी रोक्का राखेको खाता ४८ घण्टाभन्दा बढी अवधिको लागि रोक्का राख्न परेमा राष्ट्र बैंकमार्फत पुनः रोक्का गराउनुपर्नेछ’ भन्ने व्यवस्था थप गरेको छ ।
विनियमावलीमा प्रचलित कानून बमोजिम अख्तियार प्राप्त अधिकारीले कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाको खाताको विवरण इजाजतपत्र प्राप्त संस्थालाई पत्राचार गरी सोझै माग गर्न सक्ने व्यवस्था गरेको छ ।
इजाजतपत्र प्राप्त संस्थामा खाता रोक्का रहेको ग्राहकले आफ्नो खाता रोक्का रहेको कारण सम्बन्धमा सूचना माग गरेमा इजाजतपत्र प्राप्त संस्थाले त्यस्तो सूचना उपलब्ध गराउनु पर्नेछ । कुनै कसुरको अनुसन्धान गर्ने अधिकारप्राप्त अधिकारीले कुनै ग्राहकको इजाजतपत्र प्राप्त संस्थामा रहेको सेफ डिपोजिट भल्ट-लकर रोक्का राख्नुपर्ने भएमा राष्ट्र बैंकसमक्ष अनुरोध गर्नुपर्नेछ ।
तर, प्रचलित कानून बमोजिम सेफ डिपोजिट भल्ट-लकर सोझै रोक्का गर्ने व्यवस्था भएमा अख्तियार प्राप्त अधिकारीले कुनै ग्राहकको इजाजतपत्र प्राप्त संस्थामा रहेको त्यस्तो सेफ डिपोजिट भल्ट-लकर रोक्काका लागि इजाजतपत्र प्राप्त संस्थालाई सोझै पत्राचार गर्न सक्ने व्यवस्था पहिलो संशोधनमा मार्फत थप भएको छ ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                