काठमाडौं । सेयर बजारमा रौनक देखिएको छ । गतसातादेखि उकालो लागेको नेप्सेले यस साता पनि सोही लय कायमै राखेको छ । गत साता ११४ अंकले बढेको नेप्से यससाता दुई दिनमै ९३ अंकले बढेको हो ।
सोमबार नेप्से परिसूचक ३७.१३ अंकले बढेर २६९०.७२ बिन्दुमा पुगेको छ । आज इन्ट्राडेमा नेप्से २७०० बिन्दु माथि पुगे पनि टिक्न भने सकेन । आज ३०५ कम्पनीको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयर किनबेच भएको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ९६ करोड रुपैयाँले बढेर ७ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये उत्पादनमूलक र फाइनान्स बाहेक अरु सबै समूहको परिसूचक बढेको छ ।
होटल समूहको परिसूचक सर्वाधिक ३.५ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूहको १.२९ प्रतिशतले घटेको छ ।
आज चन्द्रागिरि हिल्सको सर्वाधिक २६ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको २४ करोड ११ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६६ कम्पनीको मूल्य घटेको छ ।
बढ्दो बजारमा आज थ्रीस्टार हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ९.९३ प्रतिशत कमाएका छन् ।त्यस्तै, दोल्ती पावरको ९।६८ प्रतिशत, जोशी हाइड्रोपावर ८.४२ प्रतिशत, पिपुल्स हाइड्रोपावर र पाँचथर पावरको सेयर मूल्य ७ प्रतिशतले बढेको छ ।
इस्टर्न हाइड्रोपावरका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।