बाढीपहिरोबाट सवा ७ अर्ब बढीको बीमा दाबी पर्ने, कुन कम्पनीमा कति ?

काठमाडौं । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिराले पुर्याएको क्षतिबाट सवा ७ अर्ब रुपैयाँ बढीको बीमा दाबी पर्ने अनुमान गरिएको छ ।

नेपाल बीमा प्राधिकरणले संकलन गरेको प्रारम्भिक तथ्यांक अनुसार कुल ७ अर्ब २८ ८५ लाख १९ हजार १०२ रुपैयाँ बराबरको बीमा दाबी पर्ने अनुमान गरिएको हो । कुल २ हजार ३३७ वटा दाबी पर्ने प्राधिकरणको आकलन छ ।

असोज १६ गतेसम्म कुल २ अर्ब ६७ करोडको दाबी परिसकेको छ। दाबी पर्ने क्रम चलिरहेकाले दाबी संख्या र रकम अझै बढ्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

बाढीपहिरोबाट सबैभन्दा धेरै घर लगायत सम्पत्तिमा क्षति पुर्याएको छ । प्राधिकरण अनुसार सम्पत्ति बीमा गरेकाहरूले ६ अर्ब ११ करोड बीमा दाबी गर्ने प्राधिकरणको आाकलन छ । हालसम्म ३४३ वटा पोलिसीबाट २ अर्ब ३१ करोड रुपैयाँ बराबरको दाबी परिसकेको छ ।

त्यसैगरी, इन्जिनियरिङ तथा ठेकेदारहरूले ७१ करोड ८९ लाख रुपैयाँ बराबरको बीमा दाबी पर्ने सम्भावना छ भने हालसम्म २८ करोड ४९ लाख रुपैयाँ बराबरको दाबी परिसकेको छ ।

त्यस्तै, सार्वजनिक र निजी सवारी साधनमा गरी कुल ४२ करोड बढीको बीमा दाबी पर्ने प्राधिकरणको प्रारम्भिक तथ्यांक्ले देखाएको छ । निजीतर्फ ५४३ वटा पोलिसीबाट २७ करोड ३० लाख र सार्वजनिकतर्फ २४६ पोलिसीबाट १५ करोड ४५ लाख बीमा दाबी पर्ने प्राधिकरणले जनाएको छ । हालसम्म ६ करोड रुपैयाँ बढीको दाबी परिसकेको छ ।

यस्तै, कृषि बालीतर्फ १९ वटा पोलिसीबाट ४३ लाख ७६ हजार, पशुपक्षीतर्फ १९ वटाबाट १ करोड १५ लाख, विविधतर्फ ८ पोलिसीबट १४ लाख ९५ हजार रुपैयाँ बराबरको बीमा दाबी पर्ने प्राधिकरणको अनुमान छ ।

प्रदेशगत आधारमा बाढीपहिरोले बागमती प्रदेशमा सबैभन्दा धेरै बीमा दाबी परेको छ । बागमती प्रदेशमा २ हजार ७९ वटा दाबी संख्या मार्फत ६ अर्ब ९३ करोड ८१ लाख रुपैयाँ बराबर दाबी पर्ने देखिएको छ ।

यस्तै धेरै दाबी पर्ने प्रदेशको दोस्रो नम्बरमा कोशी छ । यस प्रदेशमा १५९ वटा दाबी संख्यामार्फत १६ करोड ९९ लाख बराबरको दाबी पर्ने प्रारम्भिक आँकडा छ । मधेशमा ७ करोड ५९ लाख, लुम्बिनीमा ५ करोड ७५ लाख, गण्डकीमा ४ करोड ६९ लाख र कर्णालीमा १० लाख रुपैयाँ बराबरको माग दाबी परेको प्राधिकरणको प्रारम्भिक तथ्यांक छ ।

कुन बीमा कम्पनीमा कति ?

प्राधिकरणका अनुसार बाढीपहिरोबाट १४ निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा कुल ७ अर्ब २८ करोड ८५ लाख रुपैयाँ बराबरको दाबी पर्ने अनुमान गरिएको छ । गत बुधबारसम्म करिब २ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ बराबरको बीमा दाबी परिसकेको छ । कुल ७०९ दाबी संख्याबाट उक्त रकम बराबरको मागदाबी गरिएको बीमा प्राधिकरणले जनाएको छ ।

कम्पनीहरूले प्राधिकरणमा बुझाएको विवरण अनुसार प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचना बमोजिम ३ कम्पनीमा १ अर्ब बढीको बीमा दाबी पर्ने अनुमान छ । जसमा सिद्धार्थ प्रिमियरमा १ अर्ब ८१ करोड, दि ओरियण्टलमा १ अर्ब ४४ करोड र हिमालयन मा १ अर्ब १७ करोड रुपैयाँ बराबरको दाबी पर्ने अनुमान छ ।

त्यस्तै, नेकोमा ८९ करोड ८४ लाख, शिखरमा ४६ करोड ५८ लाख, नेसनलमा २३ करोड ६६ लाख, आइजीआइ प्रूडेन्सियल २० करोड ६४ लाख, नेपालमा १५ करोड २४ लाख, एनएलजीमा १२ करोड ६ लाख, युनाइटेड अजोडमा ७ करोड ४४ लाख, सगरमाथा लुम्बिनी मा ६ करोड ३० लाख तथा प्रभु मा ४ करोड १७ लाख बराबरको माग दाबी परेको प्रारम्भिक अनुमान छ ।

यसैगरी, सानिमा जीआइसी मा २ करोड ८६ लाख, स्टार माइक्रो मा ६१ लाख ३६ हजार, ट्रस्ट माइक्रो मा ९ लाख २० हजार, प्रोटेक्टिभ माइक्रोमा १ लाख ३० हजार रुपैयाँ बराबरको माग दाबी परेको छ ।

संख्यागत आधारमा शिखर को सबैभन्दा बढी ३२२ वटा दाबी परेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियरमा ३१९, नेकोमा २२३, आइजीआइमा २४८, सगरमाथा लुम्बिनीमा २९१, हिमालयन एभरेष्टमा २१६ वटा दाबी परेको छ ।

लाभांश प्रयोजनका लागि सिटिजन्स बैंकले तोक्यो बुकक्लोज Read Previous

लाभांश प्रयोजनका लागि सिटिजन्स बैंकले तोक्यो बुकक्लोज

ह्युमपाइपले जोडियो तातोपानी नाका Read Next

ह्युमपाइपले जोडियो तातोपानी नाका