काठमाडौं । तातोपानी नाकाबाट स्याउ र लसुन बोकाएरै ल्याउने तयारी गरिएको छ । गत साता आएको बाढीपहिरोले तातोपानी पुग्ने पुल र सडक बगाएपछि व्यापारीहरूले भन्सार नाकामा आइपुगेको सामान मानिसलाई बोकाएरै भए पनि काठमाडौं ल्याउने तयारी गरेका हुन् ।
अरनिको राजमार्ग अन्तर्गत लार्चा र लिपिनको बेलिब्रिज बाढीले बगाएको छ भने सडक ठाउँठाउँमा अबरुद्ध छ । अहिले लार्चासम्म सवारी साधन चले पनि त्यहाँभन्दा उता जान सक्ने अवस्था छैन । दशैंअघि उक्त सडक खुल्ने सम्भावना नरहेपछि व्यापारीहरूले भन्सारसम्म आएको स्याउ र लसुन बोकाएरै भए पनि ल्याउने योजना बनाएका हुन् ।
स्याउ र लसुन लामो समय कन्टेनरमै राख्दा कुहिने र तत्काल सडक खुल्ने सम्भावना पनि नरहेकाले बोकाएर लैजाने तयारी गरेका हुन् । व्यापारीहरूले सामान जाँचपास गरिदिन भन्सार कार्यालयलाई आग्रह समेत गरेका छन् ।
तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले व्यवसायीहरूले स्याउ र लसुन बोकाएरै लैजाने भन्दै जाँचपासका लागि आग्रह गरेको बताए । उनका अनुसार अहिले तातोपानी भन्सारमा २२ कन्टेनर बढी स्याउ र लसुन छ ।
‘भन्सारमा एक सातादेखि २२ कन्टेनर स्याउ र लसुन रोकिएको छ । तत्काल सडक खुल्ने सम्भावना पनि छैन,’ उनले भने, ‘त्यसैले अहिले व्यापारीहरूले गाडी चल्ने ठाउँसम्म भरियालाई बोकाएर र त्यहाँबाट उता गाडीमा लैजाने भन्दै जाँचपासका लागि प्रस्ताव गर्नुभएको छ ।’
व्यवसायीको प्रस्ताव बारे भन्सार कार्यालयले छलफल गरिरहेको बताए । ‘हामीले व्यवसायीको प्रस्ताव र सहजताको लागि छलफल गरिरहेका छौं,’ उनले भने, ‘सामान लैजान सम्भव देखिए चाँडै जाँचपास गरिदिन्छौं ।’
भन्सारदेखि लार्चासम्म बोकाएर ल्याउने र त्यहाँबाट कन्टेनरमा काठमाडौंमा ल्याउने व्यापारीहरूको योजना छ । बोकाएर लैजाँदा लागत केही महँगिने भए पनि सामान खेर नजाने व्यापारीहरू बताउँछन् ।
अन्य सामान तत्कालै जाँचपास नगरे पनि बिग्रिने सम्भावना छैन । तर, स्याउ र लसुन अझै केही दिन मात्रै भन्सारमै राखे सबै कुहिएर खेर जाने सम्भावना छन् । जसबाट व्यवसायीले करोडौंको क्षति व्यहोनुपर्ने हुन्छ । व्यापारीहरूले दशैंलाई लक्षित गर्दै उक्त सामान ल्याएका थिए ।
सूचना अधिकारी काफ्ले पनि स्याउ र लसुन कुहिएर खेर जानुभन्दा वैकल्पिक माध्यमबाट भए पनि बजारसम्म पुर्याउन सके सबैको हितमा हुने बताउँछन् ।