काठमाडौं । चुक्ता पूँजी पुर्याउन बीमा कम्पनीहरूले हकप्रद सेयरको साहरा लिएका छन् । तोकिएको समयमा लाभांश दिएर चुक्ता पूँजी पुर्याउन नसकेपछि अधिकांश कम्पनीले हकप्रद सेयर जारी गरेर चुक्ता पूँजी पुर्याउने भएका हुन् ।
हालसम्म २८ (जीवन र निर्जीवन) कम्पनी मध्ये ५ जीवन र ५ निर्जीवन गरी १० कम्पनीले मात्रै चुक्ता पूँजी पुर्याएका हुन् । प्राधिकरणले पटक पटक थपेको समय सीमा सकिँदा पनि अझै डेढदर्जन कम्पनीले चुक्ता पूँजी कायम गर्न सकेका छैनन् ।
प्राधिकरणले २०७८ चैतमा बीमा कम्पनीहरूले १ वर्ष भित्र चुक्ता पूँजी अढाई गुणाले बढाउन निर्देशन दिएको थियो । सो अनुसार २०७९ चैतसम्म जीवन बीमा कम्पनीले न्यूनतम ५ अर्ब र निर्जीवन बीमाले साढे २ अर्ब रुपैयाँ पूँजी पुर्याउनु पथ्र्यो । सो समयमा पनि पूँजी पुर्याउन नसकेपछि प्राधिकरणले २०८० असार मसान्तसम्म म्याद थपिदिएको थियो । त्सपछि पनि समय थप्दै २०८१ असार मसान्तको म्याद दिएको थियो । तर, अझै १५ कम्पनी (विदेशी कम्पनीका शाखा बाहेक)ले पूँजी पुर्याएका छैनन् ।
प्राधिकरणले पूँजी बढाउन निर्देशन दिए पनि कडाइका साथ कार्यान्वयन नगर्दा बीमा कम्पनीहरूले समयमै चुक्ता पूँजी पुर्याउन नसकेका हुन् ।
पूँजी पुर्याउन बाँकी रहेका अधिकांश कम्पनीले हकप्रदमार्फत चुक्ता पूँजी पर्याउने प्रस्ताव पेश गरेका छन् । सरकारी स्वामित्वका दुवै (जीवन र निर्जीवन) कम्पनीले भने हालसम्म पूँजी वृद्धिको योजना पेश गरेका छैनन् । प्राधिकरणले कम्पनीहरूको संचित कोषबाट बोनस दिन पाउने र त्यसबाट पनि चुक्ता पूँजी नपुगे हकप्रद जारी गर्न पाउने व्यवस्था गरिदिएपछि अधिकांश कम्पनीले हकप्रद जारी गरेर पूँजी पुर्याउन लागेका हुन् ।
हकप्रदमार्फत पूँजी वृद्धि गर्दै ११ कम्पनी
चुक्ता पूँजी पुर्याउन बाँकी मध्ये ५ जीवन र ६ निर्जीवन बीमा कम्पनीले हकप्रद सेयर प्रस्ताव गरेका छन् । जीवन बीमातर्फ हालसम्म नेपाल लाइफ, हिमालयन लाइफ, नेशनल लाइफ, आइएमई लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्सले तोकेको चुक्ता पूँजी पुर्याइसकेका छन् ।
चुक्ता पूँजी पुर्याउन बाँकी लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, एशियन लाइफ, प्रभु महालक्ष्मी लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद सेयर प्रस्ताव गरेका छन् । रिलायबल नेपाल लाइफले बोनस सेयरबाटै चुक्ता पूँजी र्पुयाउने भएको छ । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमाले अझै कुनै योजना पेश गरेको छैन ।
लाइफ इन्स्योरेन्स कर्पोरेसनले ८८ प्रतिशत हकप्रद सेयर जारी गर्दैछ । यसले नेपाल धितोपत्र बोर्डबाट हकप्रद जारी गर्न अनुमतिसम्म पाइसकेको छ ।
त्यस्तै, एसियन लाइफले ४२ प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । त्यसैगरी, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १७ प्रतिशत, सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । यी कम्पनीले पनि बोर्डमा आवेदन दिइसकेका छन् ।
सानिमा रिलायन्स र सिटिजन लाइफको संचित कोषबाट बोनस दिएर चुक्ता पूँजी पुर्याउन सक्ने अवस्था छ । यद्यपि, हालसम्म हकप्रद र बोनस सेयर दुवै घोषणा गरेका छैनन् ।
निर्जीवन बीमातर्फ हालसम्म ५ कम्पनीले पूँजी पुर्याएका छन् । शिखर, सिद्धार्थ प्रिमियर, आइजीआई प्रुडेन्सियल, सगरमाथा लुम्बिनी र हिमालयन एभरेष्टले चुक्ता पूँजी पुर्याएका छन् । बाँकी ९ कम्पनीमध्ये ओरियण्टल र नेशनल विदेशी कम्पनीका शाखा भएकाले तोकिएको पूँजी कायम गर्नुपर्दैन भने ७ वटाले अझै पुर्याउन सकेका छैनन् ।
पूँजी पुर्याउन बाँकी ७ निर्जीवन बीमा कम्पनीले मध्ये ६ कम्पनीले हकप्रद प्रस्ताव गरेका छन् । एनएलजी, नेको, प्रभु, नेपाल, युनाइटेड अजोड र सानिमा जीआइसीले हकप्रद सेयर प्रस्ताव गरेका छन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले अझै पूँजी वृद्धिको योजना सार्वजनिक गरेको छैन ।
एनएलजी इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद जारी गर्न बोर्डबाट अनुमति पाइसेकेको छ । नेको इन्स्योरेन्सले २५ प्रतिशत, नेपाल इन्स्योरेन्सले ४० प्रतिशत, प्रभु इन्स्योरेन्सले ५०.१५ प्रतिशत, युनाइटेड अजोडले १५ प्रतिशत र सानिमा जीआइसीले २५ प्रतिशत हकप्रद प्रस्ताव गरेका छन् । यी सबै कम्पनीले अनुमति माग्दै बोर्डमा आवेदन दिइसकेका छन् ।