काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छिन् ।
उनले आजदेखि सीईओको जिम्मेवारी सम्हालेकी हुन् । उनी नेपालको बीमा कम्पनीहरूको इतिहासमा दोस्रो महिला सीईओ हुन् ।
नव नियुक्त सीईओ श्रेष्ठको बीमा क्षेत्रमा २९ वर्षको अनुभव रहेको छ । १६ फागुन २०५२ मा सहायक अधिकृतको रूपमा बीमा क्षेत्रमा उनको यात्रा सुरु भएको थियो ।
सीईओको रूपमा उनले आफ्नो अनुभव र नयाँ योजनाको साथ हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्न कम्पनीले जनाएको छ ।
नव नियुक्त सीईओ श्रेष्ठले हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्ने मौका पाउँदा आफू निकै सम्मानित महसुस भएको बताइन् ।
‘हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्ने मौका पाउँदा मैले निकै सम्मानित महसुस गरेको छु । अबको मेरो भूमिका भनेको नयाँ प्रविधि तथा दिगो वृद्धिलाई प्रोत्साहन गर्दै ग्राहककेन्द्रित समाधानहरू प्रदान गर्ने हुनेछ । मेरो लक्ष्य भनेको कम्पनीका सबै सदस्यमा जिम्मेवारी बोधको भावना सिर्जना गर्ने तथा कम्पनीको समग्र वृद्धिको वातावरण बनाउने हो,’ उनले भनिन् ।