धान-चामल आयात ३१ प्रतिशतले घट्यो

वीरगञ्ज । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घटेको छ । चालु आवको भदौसम्म ९६ करोड ३२ लाख ५६ हजार रुपैयाँको २ करोड ६३ लाख ३४ हजार ७९० किलो धान आयात भएको छ ।

गत आवको सोही अवधिमा १ अर्ब ३१ करोड २९ लाख १० हजार रुपैयाँको ३ करोड ७९ लाख ५१ हजार ५६६ किलो धान आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ३०.६१ प्रतिशतले घटेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आवको तुलनामा चालु आवमा धान र चामलको आयातमा केही कमी आएको बताए । चालु आवको भदौ मसान्तसम्ममा कनिका आयातमा पनि कमी आएको छ ।

चालु आवको भदौ मसान्तसम्ममा रु २२ करोड १७ लाख २८ हजारको १६ लाख ८८ हजार नौ सय किलो चामल तथा कनिका आयात भएको छ । गत आवको सोही अवधिमा रु २६ करोड पाँच लाख २७ हजारको २२ लाख ३ हजार ९०० किलो चामल तथा कनिका आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा २३.३७ प्रतिशतले चामल तथा कनिकाको आयात घटेको हो ।

चालु आवमा २ महिनामा मकैको आयात पनि घटेको छ । भदौ मसान्तसम्ममा ६१ करोड २४ लाख ७८ हजारको १ करोड ५० लाख ३८ हजार किलो मकै आयात भएको छ । गत आवको सोही अवधिमा रु ६७ करोड ९७ लाख ६२ हजारको एक करोड ८६ लाख ९१ हजार ७१४ किलो मकै आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयात १९.५५ प्रतिशतले घटेको हो ।

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश Read Previous

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुटाइने Read Next

उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुटाइने