काठमाडौं । बाढीपहिरोबाट १७ अर्ब रुपैयाँ बढीको क्षति पुगेको छ । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले १७ अर्ब रुपैयाँभन्दा बढी क्षति पुर्याएको सरकारको प्रारम्भिक अनुमान रहेको छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले प्रारम्भिक क्षतिबारे जानकारी दिएका हुन् ।
उनका अनुसार बाढी, पहिरो र डुवानबाट २१ जिल्ला प्रभावित भएका छन् । तीमध्ये वागमती प्रदेशमा काभ्रे, ललितपुर, काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला बढी प्रभावित भएको उनले जानकारी दिए ।
बाढी, पहिरो र डुवानबाट कृषि तथा पशुपक्षी क्षेत्रमा सबैभ्न्दा धेरै ६ अर्ब रुपैयाँ बढीको क्षति भएको छ । त्यसैगरी, खानेपानीको संरचनामा ३ अर्ब ५५ करोड, सडक र पुल पूर्वाधारतर्फ २ अर्ब ५२ करोड, उर्जातर्फ ४ अर्ब र सिँचाइतर्फ २ अर्ब रुपैयाँको क्षति भएको छ ।
कृषि बालीमा भएको क्षतिको विवरण १ महिनाभित्र तयार पारिने मुख्य सचिव अर्यालले बताए ।
हालसम्म बाढीपहिरोमा परी २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् । १५८ जना घाइते भएका छन् ।