काठमाडां । बागमती प्रदेश राजधानी हेटौंडा र सङ्घीय राजधानी काठमाडौंलाई जोड्न छोटो दूरीका आधा दर्जनभन्दा बढी सडक छन् । तीमध्ये ५ वटा सडक अझै अवरुद्ध छन् ।
वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको हेटौंडा-काठमाडौं जोड्ने सडकमध्ये मकवानपुरको हेटौंडा-काठमाडौं र हेटौंडा-धरान चतरा जोड्ने दुई वटा सडक पुनः सञ्चालनमा आएको छ भने ५ वटा सडक अझै अवरुद्ध छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौंडा-भैंसे-चित्लाङ-चन्द्रागिरी-काठमाडौँ जाने सडक हिजोबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । वर्षासँगै खसेको पहिरो पन्छाएपछि ती सडक सञ्चालनमा आएको जिप्रका मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।
सो सडक खण्डअन्तर्गत मकवानपुरको थाहा नगरपालिका-५ दामनमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । यस्तै मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौंडा-सिन्धुली-धरान चतरा सडक पनि सञ्चालन भएको छ । पहिरो पन्छाएर सञ्चालन भएको केही छिनमै पुनः ठूलो पहिरो खसेपछि हेटौंडा-भैंसे-भिमफेदी सडक अवरुद्ध भएको छ ।
कान्ति लोकपथ सडक खण्डको बकैया गाउँपालिका-१२ घट्टेपाखा र ११ नं वडाको लाम्राङ, आपचौरमा पहिरोको कारण र भीमफेदी गाउँपालिका-८ स्थित वाग्मती खोलाको पुल कटान गरी सडक अझै पूर्णरुपमा अवरुद्ध छ । दक्षिणकाली-छैमले-सिस्नेरी सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भञ्याङमा पहिरो खस्दा कुलेखानी-फाखेल-फर्पिङ बाटो पूर्णरुपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले बताए ।
दक्षिणकाली-छैमले-सिस्नेरी सडक खण्डकै इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी-सिस्नेरी-फर्पिङ बाटो पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
कुलेखानी-मार्खु भित्री सडक खण्डको इन्द्रसरोवर गाउँपालिका-१ सिम्लाङमा पहिरोको कारण थानकोट-कुलेखानी बाटो पूर्णरुपमा अवरुद्ध छ । भीमफेदी गाउँपालिका-४ रातोमाटे, भीमफेदी-६ ढोकाफेदीमा पहिरो खसेर हेटौंडा-कुलेखानी जोड्ने बाटो पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
यता बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले उपत्यका बाहेकको १० जिल्लाका २६ वटा सडक अझै अवरुद्ध रहेको जनाएको छ । बाढी, पहिरोका कारण अवरुद्ध भएकामध्ये मकवानपुरका ११ वटा, सिन्धुलीका आठ, रसुवाका सात, सिन्धुपाल्चोकका तीन, काभ्रे र रामेछापका दुई/दुई वटा सडक अझै अवरुद्ध रहेको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।