मुख्य सडक बन्द हुँदा हवाई टिकट पाउनै मुस्किल, भाडा अचाक्ली महँगियो

काठमाडौं । देशका मुख्य राजमार्गहरू बन्द हुँदा हवाई टिकट पाउनै मुस्किल भएको छ । शुक्रबारदेखि परेको अबिरल वर्षाका कारण मुख्य राजमार्गमा यातायात ठप्प हुँदा हवाई उडानमा अत्यधिक चाप देखिएको हो ।

शुक्रबारदेखि रोकिएको आन्तरिक हवाई सेवा आज बिहानैदेखि नियमित संचालनमा आएको छ । तर, यसअघि रोकिएका हवाई यात्रु र सडक बन्द हुँदा थपिएका यात्रुका कारण हवाई टिकट पाउनै कठिन भएको हो ।

आज सबै गन्तव्यमा जहाज पूर्णक्षमतामा संचालनमा आए पनि यात्रुको संख्या अधिक हुँदा टिकट पाउनै मुस्किल रहेको छ । नयाँ टिकटको माग धान्न धौधौ भइरहेको एयरलाइन्स कम्पनीहरूले जनाएका छन् ।

आज बेलुकासम्मै मौसम अनुकूल रहे रात्रिकालीन उडान गरेर भए पनि यात्रु ओसार्ने योजना बनाइएको एयरलाइन्स कम्पनीहरूले बताएका छन् ।

अधिकांश गन्तव्यको आजका लागि टिकट सोल्ड आउट भइसकेका छन् । भद्रपुर, भरतपुर, लगायत गन्तव्यको पर्सीसम्मको टिकट पाउने अवस्था छैन ।

एयरलाइन्सहरूले यात्रुको सेवा दिने बताइ रहे पनि भाडा भने अचाक्ली बढाएका छन् । टिकटको माग ह्वात्तै बढेपछि एयरलाइन्स कम्पनीहरूले केही गन्तव्यको भाडादर झण्डै दोब्बरसम्म बढाएका छन् ।

सामान्य अवस्थामा काठामाडौं-विराटनगर रुटको भाडा साढे ५ हजार हुने गरेकोमा आज ९ हजार ९०० रुपैयाँ हजार पुर्याएका छन् ।

त्यस्तै, काठमाडौं भैरहवाको ४ हजार हाराहारी रहेको हवाई भाडा साढे ६ हजार पुगेको छ । त्यसैगरी, सुर्खेतका लागि साढे १२ हजार, भद्रपुर १२ हजार २०० रुपैयाँ, नेपालगञ्ज ९ हजार ३०० रुपैयाँ, जनकपुरको ४ हजार ९०० रुपैयाँ, सिमरा ४ हजार रुपैयाँ पुर्याएका छन् । यी गन्तव्यहरूमा एयरलाइन्सहरूले न्यूनतम २० देखि ५० प्रतिशतसम्म भाडा बढाएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले समेत उडान संख्या बढाएका छन् । यसले विमानस्थलमा उडानको व्यवस्थापन मिलाउन चाप भएको हो ।

बाढीपहिरोका कारण राजधानी काठमाडौं आउने मुख्य नागढुंगा–मुग्लिन, बीपी राजमार्ग लगायत सडक बन्द छ । ती राजमार्ग खुलाउन अझै समय लाग्ने बताइएको छ ।

स्वास्थ्य बीमा सुधारका लागि सुझाव समिति गठन Read Previous

स्वास्थ्य बीमा सुधारका लागि सुझाव समिति गठन

सिप्रदीद्धारा टाटा बसका लागि गोंगबुमा निःशुल्क चेकअप क्याम्प संचालन Read Next

सिप्रदीद्धारा टाटा बसका लागि गोंगबुमा निःशुल्क चेकअप क्याम्प संचालन