जीवन बीमा कम्पनीले दुई महिनामै गरे ३० अर्बको व्यापार, कुनले कति ?

काठमाडौं । भदौ महिनामा जीवन बीमा व्यवसायमा सुधार आएको छ । चालु अर्थिक वर्ष २०८१/८२ को साउनमा ५.२६ प्रतिशतले घटेको जीवन बीमा व्यवसाय भदौमा ३.५२ प्रतिशतले बढेको हो ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आवको भदौमा १४ जीवन बीमा र ३ लघु जीवन बीमा कम्पनीले कुल ३० अर्ब १५ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो गत वर्ष भदौको तुलनामा १ अर्ब २ करोड रुपैयाँ धेरै हो । गत वर्ष भदौमा जीवन बीमा कम्पनीहरूले कुल कम्पनी २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ बीमा शुलक संकलन गरेका छन् ।

यद्यपि, साउनको तुलनामा भदौमा प्रिमियम संकलन घटेको छ । साउन एक महिनामा जीवन बीमा कम्पनीले १८ अर्ब ५७ करोड ४९ लाख रुपैयाँ बीमा शुलक संकलन गरेका थिए । भदौ महिनामा मात्रै ११ अर्ब ५८ करोड २९ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेका छन् ।

चालु आवको भदौमा १४ जीवन बीमा कम्पनीले मात्रै ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ र ३ लघु जीवन बीमा कम्पनीले ६ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

यस अवधिमा जीवन बीमा कम्पनीहरूले नयाँ व्यवसाय खासै बढाउन नसके पनि पुरानै पोलिसी नवीकरणले व्यवसाय धानेको देखिन्छ । कुल व्यवसायमा पोलिसी नवीकरणबाट उठेको बीमाशुल्कको हिस्सा ८१.१३ प्रतिशत रहेको छ । नयाँ पोलिसी बिक्रीबाट १८.८६ प्रतिशत मात्रै बीमा शुल्क संकलन गरेका छन् ।

भदौसम्म जीवन बीमा कम्पनीहरूले प्रथम बीमा शुल्क बापत ५ अर्ब १९ करोड र नवीकरण शुल्क बापत २४ अर्ब ४६ करोड रुपैयाँ संकलन गरेका छन् ।

जीवन बीमा कम्पनीले भदौमा मात्रै ४ लाख ४४ हजार ६९३ वटा पोलिसी जारी गरेका छन् । साउनमा ५ लाख ६४ हजार ७८३ वटा पोलिसी बिक्री गरेका थिए । भदौसम्म जीवन बीमा कम्पनीहरूको कुल सक्रिय बीमालेख संख्या १ करोड ३७ लाख ८४ हजार १०० वटा रहेका छन् ।

नेपाल लाइफकै वर्चश्व

जीवन बीमा व्यवसायमा नेपाल लाइफ इन्स्योरेन्सकै वर्चश्व रहेको छ । भदौसम्म संकलित कुल बीमा शुल्क मध्ये नेपाल लाइफ एक्लैले झण्डै एकतिहाई बीमा शुल्क संकलन गरेको छ । नेपाल लाइफले मात्रै ९ अर्ब ३ करोड रुपैयाँ संकलन गरेको छ । यो कुल व्यवसायको २९.९६ प्रतिशत हिस्सा हो ।

जीवन बीमा व्यवसायमा नेशनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा छ । भदौसम्म यसले ३ अर्ब ५८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

तेस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी)ले ३ अर्ब ३० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । कुल व्यवसायमा नेशनलको हिस्सा ११.८८ प्रतिशत र लाइफ इन्स्योरेन्सको १०.९६ प्रतिशत रहेको छ ।

साविकका ३ कम्पनी मर्ज भई दोस्रो ठूलो जीवन बीमा कम्पनी बनेको हिमालयन लाइफ भने व्यवसायमा चौथो स्थानमा रहेको छ । यसले भदौसम्म ३ अर्ब १० करोड बीमा शुल्क संकलन गरेको छ । चुक्ता पूँजी नेपाल लाइफकै हाराहारीमा रहे पनि व्यवसायमा नेपाल, नेशनल र एलआइसीभन्दा पछि परेको हो ।

भदौसम्म सूर्यज्योति लाइफले १ अर्ब ८४ करोड, एशियन लाइफ १ अर्ब ४७ करोड, सिटिजन्स लाइफ १ अर्ब २७ करोड, सानिमा लाइफ १ अर्ब १० करोड, राष्ट्रिय जीवन बीमा १ अर्ब ६ करोड, मेट लाइफ ९६ करोड, प्रभु महालक्ष्मी लाइफ ८७ करोड, रिलायबल नेपाल लाइफ ८५ करोड र आइएमई लाइफलले ८२ करोड बीमा शुल्क संकलन गरेका छन् ।

यस अवधिमा सन नेपाल लाइफले सबैभन्दा कम ७७ करोड ९८ लाख रुपैयाँ प्रिमियम उठाएको छ ।

लघुबीमाको हिस्सा ०.२३ प्रतिशत

समीक्षा अवधिमा लघु जीवन बीमा कम्पनीको व्यवसाय भने न्यून रहेको छ । गत वर्षदेखि संचालनमा आएका ३ लघुबीमा कम्पनीले चालु आवको भदौसम्म कुल ६ करोड ९६ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेका छन् । यो कुल व्यवसायकको ०.२३ प्रतिशत मात्र हो । यद्यपि, पछिल्ला महिनाहरूमा लघु जीवन बीमा कम्पनीहरूले व्यवसाय क्रमशः बढाउँदै लगेका छन् ।

भदौसम्म गार्डियन माइक्रो लाइफले ३ करोड ३३ लाख, क्रेष्ट माइक्रो लाइफले २ करोड ६३ लाख र लिबर्टी माइक्रो लाइफले ९९ लाख १ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

 

लेदोसहितको पहिरो खस्दा नागढुंगा-नौबिसे सडक अवरुद्ध Read Previous

लेदोसहितको पहिरो खस्दा नागढुंगा-नौबिसे सडक अवरुद्ध

कोदोको बिस्कुट र कुकिज प्रवर्द्धनमा आर्क्स फूड Read Next

कोदोको बिस्कुट र कुकिज प्रवर्द्धनमा आर्क्स फूड