काठमाडौं । लेदोसहितको पहिरो खस्दा काठमाडौं प्रवेश गर्ने मुख्यमार्ग नागढुंगा-नौबिसे सडक अवरुद्ध भएको छ ।
शुक्रबार दिउँसो धादिङको धुनिबेँसीस्थित सिस्नेखोलामा लेदोसहितकाे पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।
अहिले पनि निरन्तर वर्षा भएकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । सडक बन्द गन्तव्यमा हिँडेका सवारी साधन र यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।
वर्षाका कारण बाढी पहिरोको जोखिम रहेको भन्दै गृह मन्त्रालयले आज र भोलि रात्रिकालीन बस समेत नचलाउन आग्रह गरेको छ ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुका कारण गए रातिदेखि देशभर वर्षा भइरहेको छ ।