सेयर कर्जा : ५० लाखभन्दा कम ऋण लिने घटे, १ करोड बढी लिने बढे

काठमाडौं । बैंकहरूमा ठूलो सेयर कर्जाको माग बढ्दै गएको देखिएको छ । ५० लाख रुपैयाँभन्दा कमको सेयर कर्जा लगानी घट्दै गएको छ भने सोभन्दा बढी रकमको कर्जाको माग बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनमा मार्जिन प्रकृतिको ऋण (सेयर कर्जा) लगानी १.५ प्रतिशतले बढेको छ । तर, यही अवधिमा १ करोड बढीको सेयर कर्जा लगानी साढे दुई गुणा अर्थात् ३.९ प्रतिशतले बढेको छ ।

साउन बैंक तथा वित्तीय संस्थाहरूले कुल १ अर्ब ३५ करोड रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् । जसमा १ करोड रुपैयाँ बढीको सेयर कर्जा लगानी भने २ अर्ब १७ करोड रुपैयाँले बढेको छ ।

राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तसम्म १ करोड बढीको कुल सेयर कर्जा ५५ अर्ब ९३ करोड रहेकोमा साउन मसान्तमा आइपुग्दा बढेर ५८ अर्ब १० करोड पुगेको छ । एक महिनामै १ करोड माथिको सेयर कर्जा २ अर्ब १७ करोड रुपैयाँले बढेको हो ।

त्यस्तै, साउनमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको ऋण लगानी ०.४ प्रतिशत अर्थात् ४ करोड ५२ लाख रुपैयाँले बढेको छ ।

साउनमा ठूला लगानीकर्ताले ऋण लिएको देखिन्छ भने साना लगानीकर्ताले उल्टो तिरेको देखिन्छ । साउनमा २५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा लगानी भने ४.२ प्रतिशतले घटेकोे छ । असार मसान्तसम्म यस्तो कर्जा १४ अर्ब ४२ करोड कर्जा लगानी भएकोमा साउन मसान्त आइपुग्दा ६० करोड ७६ लाख रुपैयाँले घटेको छ ।

२५ लाख रुपैयाँ मुनिको सेयर धितो कर्जा प्रवाह पनि घटेको छ । साउनमा २५ लाख मुनिको सेयर कर्जा लगानी ३.५ प्रतिशत अर्थात् २५ करोड ९५ लाख रुपैयाँले घटेको छ ।

साउनमा बैंक तथा वित्तीय संस्थाहरूले गरेको कुल कर्जा लगानीमध्ये झण्डै दुईतिहाई सेयर कर्जामा लगानी गरेका छन् ।साउनमा बैंक तथा वित्तीय संस्थाहरूले कुल कुल २ अर्ब १२ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । सोमध्ये १ अर्ब ३५ करोड सेयर कर्जा लगानी गरेका छन् । यो साउनमा भएको कुल कर्जा लगानीको ६३.६७ प्रतिशत हो ।

साउमा वाणिज्य बैंकहरूको कर्जा लगानी बढे पनि विकास बैंक र फाइनान्स कम्पनीहरूको भने घटेको छ । साउनमा वाणिज्य बैंकहरूले मात्रै ३ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमा १ अर्ब ३८ करोड ८० लाख रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् । साउनमा भएको ९९ प्रतिशत बढी सेयर कर्जा लगानी वाणिज्य बैंकहरूले मात्र गरेका हुन् ।

राष्ट्र बैंकको लचकताले बढ्दै सेयर कर्जा

पछिल्लो समय नेपाल राष्ट्र बैंकको अपनाएको नीतिगत लचकता, घट्दो ब्याजदर, अधिक तरलता, अर्थतन्त्रका सूचकमा देखिएको सुधार लयागत कारणले सेयर धितो कर्जा लगानी बढेको हो ।

अर्थतन्त्रमा आएको शिथिलता कारण बजारमा उपभोग्य वस्तुको माग बढ्न नसक्दा उत्पादनमूलक, निमार्ण लगायत क्षेत्रमा कर्जाको माग बढ्न सकेको छैन भने अटो, घरजग्गा, सेयर कर्जाको माग भने बढ्दो क्रममा देखिएको छ । राष्ट्र बैंकको कडाइका कारण विगतमा सेयर कर्जा लगानी गर्न चासो नदिएका बैंकहरूले अहिले नीतिगत लचकतासँगै आक्रमक बन्न थालेका हुन् ।

राष्ट्र बैंकले गत वर्षदेखि सेयर धितो कर्जामा एकपछि अर्को नीतिगत लचकता अपनाउँदै आएको छ । सोही कारण सेयर कर्जाको माग र लगानी बढेको हो । राष्ट्र बैंकले आव २०७८/७९ को मौद्रिक नीति मार्फत सेयर कर्जामा ४/१२ करोड रुपैयाँको सीमा लगाएको थियो । त्यसको व्यापक आलोचना भएपछि २०७९/८० को मौद्रिक नीतिबाट ४ करोडको सीमा हटाएर एउटै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरेको थियो ।

त्यस्तै, गत आवमा त्यसको सीमा बढाएर एक व्यक्तिले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोड ऋण लिन पाउने व्यवस्था गरेको थियो । चालु आवको मौद्रिक नीतिबाट संस्थागततर्फको २० करोडको सीमा पनि खारेज गरिदिएको छ ।

राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार पनि घटाएको छ । गत वर्ष मौद्रिक नीति मार्फत २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत कायम गरेकोमा त्यसको सीमा बढाएर ५० लाख रुपैयाँ पुर्याएको थियो । त्यस्तै, ५० लाख बढीको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको थियो ।

अहिले बैंकिङ प्रणालीमा कायम अधिक तरलता र घट्दो ब्याजदरका कारण पनि सेयर कर्जा बढेको हो । कर्जाको माग नभएपछि बैंकहरूले महिनैपिच्छे ब्याजदर घटाइ रहेका छन् । अधिकांश बैंकले गत वर्षको कात्तिकदेखि नै निक्षेपको ब्याजदर घटाएका छन् । जसकारण बैंकको लागत घट्न गई कर्जाको ब्याजदर समेत घटेको छ । अहिले बैंकहरूको औसत बेसरेट ८ प्रतिशतमा झरिसकेको छ । बार्गेनिङ गर्न सक्ने ग्राहकले ९ प्रतिशत हाराहारीमै ऋण पाउने अवस्था छ । अर्थतन्त्रमा आएको सुधारले पनि लगानीकर्तालाई ऋण लिएर लगानी गर्न मनोबल बढेको देखिन्छ ।

 

आँखुखोलाको साढे १७ लाख कित्ता सेयर लिलामी खुल्यो, कहाँबाट दिने आवेदन ? Read Previous

आँखुखोलाको साढे १७ लाख कित्ता सेयर लिलामी खुल्यो, कहाँबाट दिने आवेदन ?

सुनको मूल्यमा लगातार छैटौं दिन रेकर्ड, तोलाको १ लाख ६१ हजार नाघ्यो Read Next

सुनको मूल्यमा लगातार छैटौं दिन रेकर्ड, तोलाको १ लाख ६१ हजार नाघ्यो