काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनलाइन प्रणालीबाट ऋणपत्रको कारोबार शुरु भएको छ । नेप्सेमा पहिलोपटक सानिमा बैंकको ‘सानिमा २०८५’ नामको डिवेन्चर ऋणपत्र खरिद(बिक्री भएको हो।
बुधबार ३८ नम्बर ब्रोकरमार्फत २५ हजार कित्ताका दरले दुई वटा म्याचिङ कारोबार भएको छ। आधार मूल्यभन्दा ३७ रूपैयाँ घटाएर प्रति डिवेन्चर ९ सय ६३ रूपैयाँको दरमा ४ करोड ८१ लाख ५० हजार रूपैयाँ बराबरको ५० हजार कित्ता ऋणपत्र खरिदबिक्री भएको छ।

यस अगाडि सानिमा बैंककै १० कित्ता ऋणपत्र नेप्सेको अनलाइन प्रणालीमार्फत परीक्षण कारोबार गरिएको थियो । परीक्षण सफल भएपछि बुधबार ठूलो संख्यामा ऋणपत्र कारोबार भएको हो ।
पछिल्लो समय प्रायःजसो वाणिज्य बैंकहरूले लाखौं कित्ता ऋणपत्र निष्काशन गरे पनि दोस्रो बजारमा खरिद बिक्री हुन सकेको थिएन।अहिले पनि अधिकांश बैंकहरुको ऋणपत्र डिम्याट भएका छैनन् । जसले गर्दा अनलाइन प्रणालीबाट कारोबार हुन नसकेकाे हाे । तर, भौतिक रुपमा भने कारोबार भइरहेको छ ।