काठमाडौं । बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । अघिल्लो दिन झिनो गिरावट आएको बजारमा आज करिब दुई अंकको सुधार देखिएको छ भने करिब ५४ करोडको कारोबार भएको छ ।
शेयर बजार मापक सूचक नेप्से आज १.८२ अंकले बढेर ११६८.०३ विन्दुमा पुगेको छ । आज १७५ कम्पनीको ५३ करोड ८३ लाख ४० हजार ८२९ रुपैयाँ बराबरको कारोबार भएको छ । १६ लाख ८१ हजार ८३८ कित्ता शेयर किन बेच भएका छन् ।
कारोबार भएका १२ वटा समूहमध्ये ४ समूहको सूचक ओरालो लागेका छन् भने ८ समूहको सूचक उकालो लागेका छन् । लघुवित्त समूहको सूचक सबैभन्दा धेरै ५.९८ अंकले घटेको छ भने जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ६९.७ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा आजबाटै कारोबार शुरु भएको सानिमा बैंकको डिवेन्चर शीर्ष स्थानमा रह्यो । यसको ४ करोड ८१ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार दुई वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल सेवा लघुवित्त र कञ्चन डेभलप्मेन्ट बैंकको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । आज नेपाल फाइनान्स कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसको मूल्य ९.९३ प्रतिशतले घटेको छ ।