वीरगञ्ज । चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज भन्सारमा चारपाङ्ग्रे सवारीको आयात घटेको छ ।
चालु आवको भदौ मसान्तसम्ममा यस नाका हुँदै रु ४२ करोड ४० लाख २ हजार मूल्यपर्ने २३० वटा जिप, कार र भ्यान आयात भएको छ । आव २०८०/८१ को सोही अवधिमा रु ४५ करोड ९० लाख ६१ हजार मूल्य पर्ने ३०६ वटा जिप, कार र भ्यान आयात भएको थियो ।
आव २०८०/८१ को भदौ मसान्तको तुलनामा चालु आवको सोही अवधिमा चार पाङ्ग्रे सवारी सङ्ख्याका आधारमा २४.८४ प्रतिशतले आयात घटेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवको दुई महिना अवधिमा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको बताए ।
‘गत आवको तुलनामा चालु आवको दुई महिनामा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन र इलेक्ट्रिक सवारीसाधन दुवैको आयात घटेको छ,’ उनले भने, ‘इलेक्ट्रिक सवारीसाधन वीरगञ्ज भन्सार नाका भन्दा उत्तरी नाकाबाट धेरै भित्रिएको छ । यो नाकाहुँदै सवारीसाधनको समग्र आयात घटेसँगै राजस्व सङ्कलनमा प्रत्यक्ष असर परेको छ ।’
चालु आव २०८१/८२ को भदौ मसान्तसम्ममा रु छ करोड एक लाख ७० हजार मूल्य पर्ने ५४ वटा इलेक्ट्रिक कार, जिप र भ्यान आयात भएका छन् । आव २०८०/८१ को सोही अवधिमा रु १३ करोड २५ लाख ५५ हजार मूल्य पर्ने ५८ वटा इलेक्ट्रिक कार, जिप र भ्यान आयात भएका थिए । गत आवको तुलनामा चालु आवमा ६.९० प्रतिशतले आयात घटेको हो ।
चालु आवको भदौ मसान्तसम्ममा रु ६ करोड २ लाख २६ हजार मूल्यपर्ने २८ वटा ट्रक, मिनीट्रक आयात भएको छ । गत आवको सोही अवधिमा रु १६ करोड ८० लाख ८१ हजार मूल्यपर्ने ६८ वटा ट्रक, मिनीट्रक आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा ट्रक र मिनीट्रकको आयात ५८ दशमलव ८२ प्रतिशतले गिरावट आएको हो ।
चालु आवको दुई महिनामा आठ करोड दुई लाख ३२ हजार मूल्यपर्ने ३८ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको छ । गत आवको सोही अवधिमा रु ९ करोड ९३ लाख ८ हजार मूल्य पर्ने ८६ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा ५५.८१ प्रतिशतले आयात घटेको छ ।
चालु आवको भदौ मसान्तसम्ममा रु १७ करोड २४ लाख चार हजार मूल्यपर्ने ७६ वटा मिनिबस र माइक्रोबस आयात भएको छ । गत आवको सोही अवधिमा रु ७ करोड १९ लाख ९१ हजार मूल्य पर्ने ३४ वटा मिनीबस र माइक्रोबस आयात भएको थियो । चालु आवको दुई महिनामा गत आवको तुलनामा मिनिबस र माइक्रोबसको आयात एक २३.५३ प्रतिशतले बढेको छ ।
चालु आवको सुरुवाती दुई महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटे पनि दुईपाङ्ग्रे सवारीसाधनको आयात दोब्बरले बढेको छ । चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज भन्सार हुँदै रु २ अर्ब ७ करोड ८४ लाख २२ हजार मूल्यपर्ने १६ हजार ३८४ वटा मोटरसाइकल आयात भएको छ ।
गत आवको सोही अवधिमा रु १ अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्यपर्ने ९ हजार २६४ वटा मोटरसाइकल आयात भएको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा मोटरसाइकलको आयात ७६.८६ प्रतिशतले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।