काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । अघिल्ला दुई कारोबार दिनमै ११८ अंकले घटेको नेप्से आज ४९ अंकले बढेको हो ।
बुधबार नेप्से परिसूचक ४९.१८ अंकले बढेर २५१९.५७ बिन्दुमा पुगेको छ । आज ३२७ कम्पनीको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता सेयर किनबेच भएको छ ।
सूचकमा वृद्धि भए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८८ करोड रुपैयाँले घटेर ४ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ ।
आज कारोबारमा आएका १३ ओटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ३.८० प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक समूहको परिसूचक पनि ३.५ प्रतिशतले बढेको छ ।
आज एनएलजी इन्स्योरेन्सको सर्वाधिक १५ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये २२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको मात्र घटेको छ ।
उच्च अंकले बढेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् कम्पनी र थ्रीस्टार हाइड्रोपावरका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
आज अपर हिमालयन हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक ६.६३ प्रतिशत गुमाएका छन् ।