काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘उपभोक्ता मूल्य सूचकांक’का लागि आधार वर्ष परिवर्तन् गरेको छ । बैंकले यसअघि आर्थिक वर्ष २०७१/७२ लाई आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकांक गणना गर्दै आएकोमा यस वर्षबाट २०८०/८१ लाई नयाँ आधार वर्ष मानेर सूचकांक सार्वजनिक गर्ने भएको हो ।
राष्ट्र बैंकले बुधबार एक कार्यक्रम आयोजना गर्दै आधार वर्ष परिवर्तन गरिएको जानकारी दिएको हो । राष्ट्र बैंकले यसअघि हाउसहोल्ड बजेट सर्वेक्षण गर्ने गरेको थियो । अहिले राष्ट्र बैंकले केन्द्रीय तथ्याकं कार्यालयले गरेको नेपाल जीवनस्तर सर्वेक्षण र आधार मूल्यको तथ्यांकलाई आधार मानेको छ ।
त्रिभुवन विश्वविद्यालय तथ्यांक विभाग, केन्द्रीय तथ्यांक कार्यालय र राष्ट्र बैंकको संयुक्त कमिटीले उपभोक्ता मूल्य सूचकांक तयार गरेको हो ।
केन्द्रीय बैंकका अनुसार ७७ जिल्लाको ८७ बजारबाट ५२५ वस्तु तथा सेवाको मूल्यका आधारमा नयाँ मूल्य सूचकांक सार्वजनिक गरिने छ ।
प्रत्येक साता ५९ वस्तु तथा सेवा मासिक ९४ वस्तु तथा सेवा र त्रैमासिक रूपमा ३७२ वस्तु तथा सेवाको मूल्य संकलन हुने राष्ट्र बैंकले जनाएको छ ।
पुरानो आधार वर्ष अनुसार खाद्य तथा पेय पदार्थ समूहको भार ४३.९१ प्रतिशत रहेकोमा नयाँ आधार वर्षमा ४५.७९ प्रतिशत पुगेको छ । गैरखाद्य तथा सेवा समूहको भार ५६.०९ बाट ५४.२१ प्रतिशत भएको छ ।