टोखा-छहरे सुरुङमार्ग अघि बढाउन चीनलाई आग्रह, सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको छ ।

  भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमति बमोजिम सहयोगका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने बताएका छन् । उनले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

 उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले केरुङ-काठमाडौं रेल निर्माण, टोखा- छहरे सुरुङ मार्ग, किमाथाङ्का-हिले, हिल्सा-सुर्खेत-भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्क लगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन अनुरोध गरेका छन् । त्यसैगरी चीनका विभिन्न शहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा विस्तारका लागि सहयोग गर्न पनि आग्रह गरे ।

 भ्रमण टोलीमा रहेका अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपालको तर्फबाट गरिएको अनुरोधका विषयप्रति चीन सरकार सकारात्मक रहेको र कामहरू अघि बढाउने प्रतिबद्धता व्यक्त भएको जानकारी दिए ।

 करिब एक घण्टा भएको भेटवार्तामा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल, चीनका लागि नेपालका कार्यबहाक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका प्रवक्ता भट्टराई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरू सहभागी थिए ।

 

गाउँ फर्कनेलाई १ लाख र ६ महिनालाई पुग्ने खाद्यान्न दिइने Read Previous

गाउँ फर्कनेलाई १ लाख र ६ महिनालाई पुग्ने खाद्यान्न दिइने

नेप्सेमा उच्च अंकको वृद्धि, यी ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेमा उच्च अंकको वृद्धि, यी ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट