काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूलाई अनिवार्य रूपमा पालना गर्न १५ बुँदे निर्देशन दिएको छ महानगरपालिकाले एक सूचना जारी गर्दै सहकारी र सदस्यलाई विभिन्न काम नियमानुसार पालना गर्न अनुरोध गरेको हो ।
महानगरले सहकारी संस्थाहरूले नक्कली ऋणी खडा गरी लगानी नगराउन, धितो वा जमानी नराखी न्यून धितो राखी ऋण लगानी नगर्न, पूँजी कोषको १० प्रतिशत भन्दा बढी रकम एक सदस्यलाई लगानी नगर्ने, सहकारीको उद्देश्य तथा कार्यक्षेत्र विपरीत लगानी र त्यस्तो अधिकार प्रबन्धक वा अन्य पदाधिकारी वा सदस्यलाई प्रत्यायोजन नगर्ने, संस्थाको बचत रकम प्रयोग गरी व्यापारिक प्रयोजनका लागि घर जग्गाको किनबेच वा कारोबारमा लगानी नगर्न भनेको छ ।
त्यसैगरी, महानगरले सहकारी संस्थाको बचत प्रयोग गरी सेयर किनबेच प्रयोजनका लागि प्रयोग नगर्ने, संस्थाको उद्देश्य तथा कार्यक्षेत्र विपरीतका कार्यमा खर्च नगर्ने, विदेश अध्ययन वा यस्तै प्रयोजनमा बचत रकमको प्रयोग नगर्ने, गैरकानूनी आयात निर्यातमा बचत रकम प्रयोग नगर्ने, संस्थाको सदस्य बाहेकका व्यक्तिलाई ऋण लगानी नगर्ने, संस्थाले प्रदान गर्ने बचत र ऋणको ब्याजदर बीचको अन्तर ६ प्रतिशतभन्दा बढी कायम नगर्ने, प्राथमिक पूँजी काेषको १५ गुणाभन्दा बढी हुने गरी बचत सङ्कलन नगर्न भन्दै सूचना जारी गरेको हो ।
त्यस्तै, एकाघरका सदस्य र एकभन्दा बढी सहकारी संस्थाको सञ्चालक समितिमा नराख्ने, सञ्चालक समितिका ४९ प्रतिशत सदस्यहरूलाई एकैपटक ऋण लगानी नगर्ने र एकै व्यक्ति वा परिवार भित्रका व्यक्ति सञ्चालक समिति र प्रबन्धकको दोहोरो जिम्मेवारीमा नरहने गरी काम गर्न सहकारी संस्थाहरूलाई ध्यानाकर्षण गराएको छ ।
साथै, सदस्यहरूले सञ्चालक समितिलाई खबरदारी गरी विभागलाई जानकारी गराउने समेत महानगरपालिकाले अनुरोध गरेको छ ।
