
काठमाडौं । २ वर्षदेखि शिथिल रहेको अर्थतन्त्र क्रमशः चलायमान हुन थालेको संकेत देखिएको छ । बैंकहरूमा बढेको कर्जाको मागले आर्थिक गतिविधि बढ्न थालेको देखाएको हो ।
अर्थतन्त्रमा आएको शिथिलताका कारण डेढ वर्षदेखि सुस्त रहेको कर्जा लगानी भदौमा भने ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूले भदौ महिनामा मात्रै ५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । गत साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५१ खर्ब ७१ अर्ब रुपैयाँ रहेकोमा भदौ मसान्त आइपुग्दा बढेर ५२ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।
यस आधारमा भदौमा औसतमा दैनिक १ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जबकि चालु आवको साउनमा बैंक तथा वित्तीय संस्थाहरूले जम्मा २ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । साउनमा बैंकहरू कर्जा विस्तारमा भन्दा रिकभरीमा केन्द्रित भएका थिए ।
त्यस्तै, भदौमा ७४ अर्ब रुपैयाँ निक्षेप थपिएको राष्ट्र बैंकको तथ्यांक छ । साउन मसान्तमा ६४ खर्ब ४७ अर्ब रहेको कुल निक्षेप बढेर ६५ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।
पछिल्लो समय अर्थतन्त्र क्रमशः चलायमान हुँदै जाँदा कर्जाको माग बढ्न थालेको हो । साथै, चाडवाड नजिएकाले सामान आयातका लागि व्यापारीले धमाधम एसी खोल्दा ऋण लगानी ह्वात्तै बढेको हो ।
नेपाल राष्ट्र बैंकको नीतिगत लचकता र घट्दो ब्याजदरले पनि कर्जाको माग बढाउन सहयोग पुर्याएको छ । अहिले पनि उत्पादनमूलक क्षेत्रमा कर्जाको माग बढ्न नसके पनि अटो कर्जा, सेयर कर्जा, घरजग्गा र व्यापार कर्जाको माग बढेको बैंकरहरू बताउँछन् ।
भदौमा सम्पन्न नाडा अटो शोमा ४ हजार बढी गाडी बुकिङ भएका थिए । त्यतिबेला गाडी बुकिङ गरेकाहरूले अहिले बैंकबाट ऋण लिन थालेका हुन् ।
त्यस्तै, सेयर कर्जामा राष्ट्र बैंकले संस्थागततर्फको २० करोडको सीमा खारेज गरेपछि ठूला लगानीकर्ताहरूले धमाधम ऋण लिन थालेको बैंकरहरू बताउँछन् । सस्तो ब्याजदर र राष्ट्र बैंकको लचकतासँगै सेयर कर्जाको माग बढेको बैंकरहरूको भनाइ छ । गत वर्षदेखि नै सेयर कर्जाको माग बढ्दो क्रममा थियो । गत आवमा मात्रै सेयर कर्जा लगानी १८ प्रतिशत अर्थात् झण्डै १३ अर्ब रुपैयाँले बढेको थियो ।
त्यस्तै, दशैं, तिहार लगायत ठूला चाडपर्व नजिकिएकाले व्यापार कर्जाको पनि माग बढेको छ । दशैं, तिहारमा अन्य समयकोभन्दा उपभोग्य वस्तुको माग बढ्ने भएकाले व्यापारीहरूले धेरै आयात गर्छन् । जसले बैंकमा ऋणको माग बढाएको देखिन्छ ।
व्यापार, घरजग्गा, सेयर, अटो कर्जाको माग बढे पनि अर्थतन्त्र चलायमान बनाउने औद्योगिक क्षेत्रमा भने कर्जाको माग बढ्न सकेका छैन । निर्माण क्षेत्र सुस्त हुँदा सिमेन्ड, डण्डी लगायत वस्तुको माग बढ्न सकेको छैन ।
अहिले बैंकिङ प्रणालीमा साढे ६ खर्ब रुपैयाँ बढी तरलता थुप्रिएको छ । ब्याजदर पनि २ वर्ष यताकै सस्तो भएको छ । तर, उपभोग्य वस्तुको माग र व्यवसायीको मनोवल बढ्न नसक्दा अपेक्षित रुपमा कर्जाको माग बढ्न सकेका छैन ।
आर्थिक संकुचनकै कारण गत वर्ष पनि कर्जा विस्तारको लक्ष्य आधा मात्रै पूरा भएको थियो । राष्ट्र बैंकले गत आव २०८०/८१ मा निजी क्षेत्रतर्फ साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेकोमा ५.८ प्रतिशत मात्रै लगानी भएको थियो ।
चालु आवमा राष्ट्र बैंकले निजी क्षेत्रतर्फ १२.५ प्रतिशतको कर्जा विस्तार लक्ष्य राखेको छ । सो अनुसार ६ खर्ब रुपैयाँ बढी कर्जा लगानी गर्नुपर्छ । लक्ष्य अनुसार कर्जा लगानी गर्न बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि कर्जाको माग बढ्नेमा भने शंका छ । यद्यपि, बजारमा कर्जाको माग बढाउन राष्ट्र बैंक र सरकारले एकपछि अर्को नीतिगत लचकता अपनाउँदै आएका छन् ।
कुन बैंकले कति दिए ऋण ?
भदौमा १४ बैंकको कर्जा लगानी बढाउँदा ६ वटाको भने घटेको छ । भदौमा नेपाल इन्भेष्टमेन्ट मेगाले सबैभन्दा धेरै १२ अर्ब १७ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ ।
त्यस्तै, ग्लोबल आइएमईले ९ अर्ब ६३ करोड, लक्ष्मी सनराइज ५ अर्ब ८७ करोड, राष्ट्रिय वाणिज्य र एनएमबी समान ४ अर्ब ९२ करोड, प्राइम कमर्शियल ४ अर्ब १२ करोड, एभरेष्टले ३ अर्ब ७८ करोड, नेपाल बैंक ३ अर्ब २३ करोड, माछापुच्छे २ अर्ब २५ करोड, नबिल २ अर्ब ७५ करोड, कुमारी १ अर्ब ८३ करोड र सानिमाले १ अर्ब ४३ करोड ऋण लगानी गरेका छन् ।
भदौमा ६ बैंकको भने कर्जा लगानी घटेको छ । जसमा एनआइसी एशियाको सबैभन्दा धेरै ३ अर्ब ७७ करोड रुपैयाँ घटेको छ । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड १ अर्ब ६४ करोड, सिद्धार्थ १५ करोड, प्रभु ९ करोड, नेपाल एसबीआई ६६ करोड र हिमालयनको १२ करोडले घटेको छ ।