काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयानँ रेकर्ड बनाएको छ । गत सातामात्रै हालसम्मकै महँगो मूल्यको रेकर्ड बनाएको सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला १७०० रुपैयाँले बढेर १ लाख ५८ हजार ८०० रुपैयाँ पुगेको छ ।
यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि भदौ ३१ गते सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ५९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर १९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।