एमसीसीको ४०० केभी प्रसारण लाइन निर्माण गर्न मुआब्जा वितरण प्रक्रिया सुरू

दमौली । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)मार्फत निर्माण हुन लागेको सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने तनहुँका विभिन्न ठाउँको जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको छ ।

एमसीए नेपालद्वारा सञ्चालित ४०० केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सवस्टेसनदेखि दमौली सबस्टेशन हुँदै नयाँ बुटवल सबस्टेन खण्डअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरू गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले असोज १ गते सूचना प्रकाशितगरी मुआब्जा प्राप्त गर्ने जग्गाधनीहरुले हकदैया भोगचलनसम्बन्धी प्रमाणसहित सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्रशासन कार्यालय वा एमसिए नेपालको तनहुँ जिल्लास्थित सम्पर्क कार्यालय वा आयोजनाको सार्वजनिक सूचना केन्द्रमा निवेदन दिन आग्रह गरेको छ ।

सूचनामा चित्त नबुझ्ने व्यक्तिले जग्गा प्राप्ति ऐन, २०३४ को दफा १८ को उपदफा (२) बमोजिम १५ दिनभित्र गृहमन्त्रालयमा उजुरी गर्नसक्ने सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए ।

प्रशासन कार्यालयमा मूल्य निर्धारण समितिको गत बुधबार बसेको बैठकले प्रसारण लाइनअन्तर्गत टावरहरु रहने जग्गाको अन्तिम मूल्य निर्धारण गरेको थियो । प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले तनहुँ जिल्लाभित्र निर्माण हुने सबै टावर रहने जग्गाको उचित मूल्य निर्धारण गरेको सहायक प्रजिअ भण्डारीले बताए ।

जिल्लास्थित आबुँखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिका अन्तर्गत करिब १९९ वटा टावर निर्माण हुनेछन् । तीमध्ये कतिपय टावर सरकारी जग्गामा पर्ने र कतिपय विवादित जग्गामा पर्ने हुँदा ती टावरलाई छोडेर बाँकी रहेको टावर रहने जग्गाको मूल्य निर्धारण गरिएको सहायक प्रजिअ भण्डारीको भनाइ छ ।

मूल्य निर्धारण समितिले जग्गाको मूल्य निर्धारण गर्नुअघि स्थलगत रुपमा जग्गाको निरीक्षण गरेको र धेरैपटक छलफल गरिएको जनाएको छ । जग्गाको वर्गीकरणअनुसार मुआब्जा निर्धारण गरिएको भन्दै सहायक प्रजिअ भण्डारीले मालपोत कार्यालयले तोकेको मूल्याङ्कन, सम्बन्धित वडा कार्यालयको चलन चल्तीको मूल्य, बैंक तथा वित्तीय संस्थाले तोकेको मूल्य, बाटोको दूरी तथा जङ्गल क्षेत्रको आधारमा जग्गाको मूल्याङ्कन गरिएको बताए।

मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण हुने रातमाटे, न्यू दमौली, लेखनाथ र न्यू बुटवल सवस्टेशनमा विद्युत् प्रवाहका लागि विद्युत् प्रसारण आयोजनाअन्तर्गत काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित नेपाल-भारत सीमानासम्म ३१५ किलोमिटर प्रसारण लाइन निर्माण गर्न लगानी हुनेछ । उक्त प्रसारण लाइनअन्तर्गत तनहुँका पाँच वटा पालिकामा १९९ वटा टावर रहनेछ ।

एमसीए नेपालले ४०० केभी न्यू दमौली सबस्टेसन निर्माणका गत साउन १६ गते ठेक्का सम्झौता गरिसकेको छ । न्यू दमौली सबस्टेसनले रातामाटे, लेखनाथ र न्यू बुटवल सबस्टेसनसँग विद्युत् प्रवाहका लागि महत्वपूर्ण बिन्दुका रुपमा काम गर्नेछ । रासस

चार युवा मिलेर १८ रोपनी जमिनमा व्यावसायिक बेसारखेती Read Previous

चार युवा मिलेर १८ रोपनी जमिनमा व्यावसायिक बेसारखेती

सुनको मूल्यले फेरि तोड्यो रेकर्ड Read Next

सुनको मूल्यले फेरि तोड्यो रेकर्ड