काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले ब्याजदर घटाएको छ । फेडले ४ वर्षपछि ब्याजदर ०.५० प्रतिशत बिन्दुले कटौती गरेको हो ।
फेडले सन् २०२० को मार्चपछि ब्याजदर घटाएको यो पहिलोपटक हो । मुद्रास्फीति नियन्त्रण गर्न फेडले मार्च २०२२ देखि जुलाइ २०२३ सम्म ११ पटक ब्याजदर बढाएको थियो भने त्यसयता यथावत राखेको थियो ।
फेडले घटाएसँगै ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ देखि ५.५० प्रतिशत थियो ।
बेरोजगार दर र मूल्यवृद्धि दुवैमा आशलाग्दो परिणाम देखिन थालेपछि फेडले ब्याजदर कटौतीको निर्णय गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । ब्याजदर कटौतीले श्रम बजारको मन्दी थप घटाउने फेडको दाबी छ ।
यो कटौतीपछि मूल्यवृद्धिमा थप जोखिम नदेखिएमा २०२४ को अन्त्यतिर अर्को ०.५० प्रतिशत बिन्दु ब्याजदर कटौती हुन सक्ने अनुमान गरिएको छ ।
‘मूल्यवृद्धिदर लक्षित २ प्रतिशतको सीमातिरै उन्मुख छ, बेरोजगारीको जोखिम पनि अब सन्तुलनतिर गइरहेको छ’ एफओएमसीको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । यो ब्याजदर कटौतीपछि अटो लोन, होम लोन, क्रेडिट कार्ड तथा बिजनेस लोन सस्तो पर्न जानेछ ।
पछिल्लो एक वर्षमा अमेरिकी बेरोजगार दर ४ बाट बढेर ४.४ प्रतिशत पुगेको छ । मूल्यवृद्धि भने २.६ बाट घटेर २.३ प्रतिशतमा झरेको छ । मूल्यवृद्धिलाई २ प्रतिशत सीमामा झार्ने लक्ष्य लिइएको छ ।
अमेरिकी ब्याजदर परिवर्तनले अमेरिकी उत्पादनको लागत तथा मूल्य, कच्चा तेल, सुन, मुद्रा विनियमदर जस्ता विषयमा प्रत्यक्ष प्रभाव पार्नेछ ।