
काठमाडौं । वाणिज्य बैंकहरू सेयर कर्जा लगानीमा आक्रमक बनेका छन् । अर्थतन्त्रमा आएको संकुचनका कारण अन्य क्षेत्रमा कर्जाको माग नहुँदा बैंकहरू सेयर कर्जा लगानीलाई प्राथमिकतामा राख्न थालेका हुन् ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउनमा) बैंक तथा वित्तीय संस्थाहरूले गरेको कुल कर्जा लगानीमध्ये झण्डै दुईतिहाई सेयर कर्जामा लगानी गरेका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउनमा बैंक तथा वित्तीय संस्थाहरूले कुल कुल २ अर्ब १२ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । सोमध्ये १ अर्ब ३५ करोड रुपैयाँ मार्जिन प्रकृति (सेयर) कर्जा लगानी गरेका हुन् । यो साउनमा बैंक तथा वित्तीय संस्थाहरूले गरेको कुल कर्जा लगानीको ६३.६७ प्रतिशत हो ।
साउमा वाणिज्य बैंकहरूको कर्जा लगानी बढे पनि विकास बैंक र फाइनान्स कम्पनीहरूको भने घटेको छ । साउनमा वाणिज्य बैंकहरूले मात्रै ३ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमा १ अर्ब ३८ करोड ८० लाख रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् । साउनमा भएको ९९ प्रतिशत बढी सेयर कर्जा लगानी वाणिज्य बैंकहरूले मात्र गरेका हुन् ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकको अपनाएको नीतिगत लचकता, घट्दो ब्याजदर, अधिक तरलता, अर्थतन्त्रका सूचकमा देखिएको सुधार लयागत कारणले सेयर धितो कर्जा लगानी बढेको हो ।
अर्थतन्त्रमा आएको शिथिलता कारण बजारमा उपभोग्य वस्तुको माग बढ्न नसक्दा उत्पादनमूलक, निमार्ण लगायत क्षेत्रमा कर्जाको माग बढ्न सकेको छैन भने अटो, घरजग्गा, सेयर कर्जाको माग भने बढ्दो क्रममा देखिएको छ । राष्ट्र बैंकको कडाइका कारण विगतमा सेयर कर्जा लगानी गर्न चासो नदिएका बैंकहरूले अहिले नीतिगत लचकतासँगै आक्रमक बन्न थालेका हुन् ।
राष्ट्र बैंकले गत वर्षदेखि सेयर धितो कर्जामा एकपछि अर्को नीतिगत लचकता अपनाउँदै आएको छ । सोही कारण सेयर कर्जाको माग र लगानी बढेको हो । राष्ट्र बैंकले आव २०७८/७९ को मौद्रिक नीति मार्फत सेयर कर्जामा ४/१२ करोड रुपैयाँको सीमा लगाएको थियो । त्यसको व्यापक आलोचना भएपछि २०७९/८० को मौद्रिक नीतिबाट ४ करोडको सीमा हटाएर एउटै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरेको थियो । त्यस्तै, गत आवमा त्यसको सीमा बढाएर एक व्यक्तिले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोड ऋण लिन पाउने व्यवस्था गरेको थियो । चालु आवको मौद्रिक नीतिबाट संस्थागततर्फको २० करोडको सीमा पनि खारेज गरिदिएको छ ।
त्यस्तै, राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार पनि घटाएको छ । गत वर्ष मौद्रिक नीति मार्फत २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत कायम गरेकोमा त्यसको सीमा बढाएर ५० लाख रुपैयाँ पुर्याएको थियो । त्यस्तै, ५० लाख बढीको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको थियो ।
अहिले बैंकिङ प्रणालीमा कायम अधिक तरलता र घट्दो ब्याजदरका कारण पनि सेयर कर्जा बढेको हो । कर्जाको माग नभएपछि बैंकहरूले महिनैपिच्छे ब्याजदर घटाइ रहेका छन् । अधिकांश बैंकले गत वर्षको कात्तिकदेखि नै निक्षेपको ब्याजदर घटाएका छन् । जसकारण बैंकको लागत घट्न गई कर्जाको ब्याजदर समेत घटेको छ । अहिले बैंकहरूको औसत बेसरेट ८ प्रतिशतमा झरिसकेको छ । बार्गेनिङ गर्न सक्ने ग्राहकले ९ प्रतिशत हाराहारीमै ऋण पाउने अवस्था छ । अर्थतन्त्रमा आएको सुधारले पनि लगानीकर्तालाई ऋण लिएर लगानी गर्न मनोबल बढेको देखिन्छ ।
यी हुन् आक्रमक कर्जा विस्तार गर्ने ५ बैंक
हाल संचालनमा रहेको २० मध्ये १९ बैंकले सेयर कर्जा लगानी गर्छन् । विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्डले भने सेयर कर्जा नै लगानी गर्दैन् । असारको तुलनामा साउनमा १९ मध्ये ११ बैंकले सेयर कर्जा लगानी बढाएका छन् भने ८ वटाले घटाएका छन् ।
साउन कुमारी बैंकले सबैभन्दा धेरै ९० करोड रुपैयाँ सेयर कर्जा लगानी गरेको छ । साउनमा कुल १ अर्ब २ करोड कर्जा लगानी गरेको कुमारीले सेयरमा मात्रै ९० करोड लगानी गरेको हो ।
त्यसैगरी, साउनमा ग्लोबल आइएमईले ६० करोड ६८ लाख, प्राइम कमर्शियलले ४८ करोड ४०, लक्ष्मी सनराइजले ४७ करोड ५९ लाख, एनएमबी ३३ करोड ८१, एसबीआइ २२ करोड ७१ लाख, नेपाल १४ करोड ६० लाख, सिद्धार्थ ११ करोड ६७ लाख, माछापुच्छे ४ करोड ४१ लाख र सिटिजन्सले ३ करोड ४१ लाख रुपैयाँ सेयर कर्जा लगानी गरेको छ ।
साउनमा नेपाल एसबीआई दोब्बरभन्दा धेरैले सेयर कर्जा वृद्धि गरेको छ । असारको तुलनामा साउनमा एसबीआइले मार्जिन कर्जा ११३.०२ प्रशितले बढाएको छ । त्यस्तै, एनएमबी २५.४० प्रतिशत, इन्भेष्टमेन्ट मेगा १८.२० प्रतिशत, लक्ष्मी सनराइज १४.०४ प्रतिशत र प्राइमले ११.९४ प्रतिशतले वृद्धि भएको छ ।
८ बैंकले भने घटाउँदै
असारको तुलनामा साउनमा ८ वाणिज्य बैंकले भने सेर कर्जा लगानी घटाएका छन् । कृषि विकास, हिमालयन, सानिमा, एभरेष्ट। राष्ट्रिय वाणिज्य, प्रभु, एनआइसी र नबिलले सेयर कर्जा लगानी घटाएका हुन् । यी बैंकहरू नयाँ सेयर कर्जा लगानीभन्दा असुलीमा केन्द्रित भएका छन् ।
यस अवधिमा नबिल बैंकले सबैभन्दा धेरै ७० करोड ९६ लाख रुपैयँँ सेयर कर्जा असुली गरेको छ । यस्तै, प्रभुले एनआइसीले साढे ४७ करोड, प्रभुले ३१ करोड, राष्ट्रिय वाणिज्यले २९ करोड, एभरेष्टले २४ करोड, सानिमाले साढे १३ करोड, हिमालयनले ९ करोड र कृषिले २ करोडले सेयर कर्जाए लगानी घटाएको छ ।