३ हजार माथि सेयर मूल्य रहेका ‘हटकेक’ ३ लघुवित्त, कति दिन सक्छन् लाभांश ?

काठमाडौं । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाको सेयर ‘हटकेक’ बन्दै गएको छ । लघुवित्त कम्पनीहरूमा पनि चुक्ता पूँजी कम रहेका लघुवित्तको सेयरमा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ ।

भदौ महिनामा समग्रमा नेप्से घट्दो क्रममा रहेको छ । तर, थोरै चुक्ता पूँजी भएका लघुवित्तको सेयर मूल्य भने एकोहोरो बढिरहेको छ । नेप्सेमा हाल ५० वटा लघुवित्त सूचीकृत छन् । तीमध्ये ९ वटा लघुवित्तको मात्रै चुक्ता पूँजी ११ करोडभन्दा कम छन् । यिनै चुक्ता पूँजी कम भएका लघुवित्तको सेयर मूल्यमा अस्वभाविक वृद्धि भएको देखिन्छ । सबैभन्दा महँगो सेयर मूल्य हुने लघुवित्तमा अधिकांश न्यून पूँजी भएका लघुवित्तहरू नै रहेका छन् ।

साना लघुवित्तको सेयर मूल्य बढ्नुको मुख्य कारण सेयर संख्या कम हुनु नै हो । नेप्सेमा सूचीकृत १३ समूहका कम्पनी मध्ये लघुवित्त तुलनात्मक रुपमा सबैभन्दा कम चुक्ता पूँजी हुने कम्पनीमा पर्छन् । सेयर संख्या कम हुँदा आपूर्तिभन्दा माग धेरै हुँदा मूल्य बढेको हो । यद्यपि, केही लघुवित्तको सेयर मूल्य भने कर्नरिङ गरेर समेत उचालिएको पाइन्छ ।

त्यस्तै, लघुवित्तको सेयर मूल्य विगतको तुलनामा निकै सस्तो हुनु, राष्ट्र बैंकले अंकुश हटाउँदै लैजानु, वित्तीय अवस्थमा समेत सुधार आउनु लगायत कारण पनि रहेका छन् ।

पछिल्लो समय लघुवित्तहरूको सेयर मूल्य ३ वर्ष यताकै सस्तो भएको थियो । विगतमा ५ हजार माथिसम्म पुगेका लघुवित्तको सेयर ५००/६०० रुपैयाँ हाराहारीमा आएको थिए । आगामी दिनमा सेयर बजारले गति लिने अपेक्षा र मूल्य निकै सस्तो भएकाले लगानीकर्ताहरूले धमाधम लघुवित्तको सेयर किन्न थालेका हुन् ।

त्यसैगरी, पछिल्लो समय राष्ट्र बैंकले लघुवित्त संस्थाहरू माथि लगाएको अंकुश क्रमशः हटाउँदै लगेको छ । विगतमा बम्पर लाभांश दिँदै आएका लघुवित्तहरूले आगामी दिनमा पनि उच्च लाभांश दिनसक्ने भएकाले लगानीकर्ता सेयरमा आकर्षित हुन थालेका छन् ।

लघुवित्तको सेयर मूल्य बढ्नुको अर्को कारण हो वित्तीय अवस्थामा सुधार आउनु । गत वर्ष अधिकांश लघुवित्तको नाफामा उल्लेख्य सुधार आएको छ । राष्ट्र बैंकले दिएको कर्जा पुनर्तालिकीकरण/पुनर्संरचनाको सुविधा र अर्थतन्त्रमा आएको सुधारका कारण कर्जा असुली रिकभरी हुन थालेको छ । खराब कर्जा घटेको छ भने बैंकको ब्याजदर पनि घट्दो क्रममा छ । जसकारण समग्र लघुवित्त व्यवसायमा सुधार देखिएको छ । व्यवसायमा सुधार आएसँगै आगामी दिनमा नाफा बढ्ने र लाभांश दिने आसमा लगानीकर्ता लघुवित्तको सेयरमा आकर्षित भएका हुन् ।

यद्यपि, केही कमजोर वित्तीय अवस्था भएका लघुवित्तहरूको सेयर मूल्य चलखेल गरी बढाइएको छ । यस्तोमा लहडको भरमा महँगोमा सेयर किन्नु जोखिमपूर्ण देखिन्छ ।

५० वटा लघुवित्तमध्ये ३ वटाको सेयर मूल्य ३ हजार माथि पुगेको छ । जसमा आत्मनिर्भरको सबैभन्दा धेरै प्रतिकित्ता ५१५० रुपैयाँ पुगेको छ । त्यस्तै, उपकार लघुवित्तको प्रतिकित्ता ३६३० रुपैयाँ र समाज लघुवित्तको ३४१२ रुपैयाँ पुगेको छ । यहाँ हामीले यिनै ३ लघुवित्तको वित्तीय अवस्थाको चर्चा गरेका छौं

कस्तो छ महँगा लघुवित्तहरूको वित्तीय अवस्था ?

आत्मर्निभर लघुवित्त : आत्मर्निभरले गत आवको असार मसान्तसम्ममा १ करोड ३९ लाख रुपैयाँ कमाएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा ३ करोड ४७ लाख रुपैयाँ कम हो । लघुवित्तले अघिल्लो वर्ष असारसम्म ४ लाख ८६ हजारु रुपैयाँ नाफा कमाएको थियो ।

आत्मर्निभरको खुद ब्याज आम्दानी ३.५७ प्रतिशतले बढेर १२ करोड ३८ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा आत्मर्निभरले ८६ करोड १५ लाख रुपैयाँ निक्षेप र १४ करोड ८१ लाख रुपैयाँ सापटी लिई कुल १ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

हाल ६ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ एण्ड सरप्लसमा १९ करोड ८७ लाख रुपैयाँ संचित छ ।

नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७७.९७ रुपैयाँबाट घटेर २०.३७ रुपैयाँ झरेको छ । यस अवधिमा लघुवित्तको खराब कर्जा ७.५८ प्रतिशतबाट बढेर १३.२२ प्रतिशतमा झरेको छ ।

उपकार लघुवित्त : उपकारले गत आवको असार मसान्तसम्म १ करोड ८५ लाख रुपैयाँ खुद खुद नाफा कमाएको छ । यो अघिल्लो तुलनामा गत वर्ष यसको नाफा २१.४१ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष उपकारले २ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा उपकारको खुद ब्याज आम्दानी १२.४३ प्रतिशतले बढेर १३ करोड २९ लाख रुपैयाँ पुगेको छ । यसको संचालन नाफा भने ०.७२ प्रतिशतले घटेर २ करोड ८ लाखमा सीमित भएको छ ।

गत वर्ष असारसम्म उपकारले ७४ करोड ६८ लाख रुपैयाँ सापटी र १ अर्ब १९ करोड निक्षेप संकलन गरी कुल २ अर्ब १७ करोड कर्जा लगानी गरेको छ ।

हाल १० करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको उपकारको जगेडा कोषमा १५ करोड २६ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिमा उपकारको प्रतिसेयर आम्दानी २३.७५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२०.०६ रुपैयाँ र खराब कर्जा २.१३ प्रतिशत छ ।

समाज लघुवित्त : ५० वटा लघुवित्तमध्ये सबैभन्दा कम चुक्ता पूँजी भएको समाजले गत असार मसान्तसम्म ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा समाजको नाफा ३२.३४ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष समाजले ७५ लाख ८२ हजार रुपैयाँ नाफा कमाएके थियो ।

समीक्षा अवधिमा समाजको कम्पनीको खुद ब्याज आम्दानी भने ४.७८ प्रतिशतले बढेर २ करोड २ लाख ६४ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, असारसम्म समाजको संचालन मुनाफा २ करोड ३० लाख रुपैयाँ ऋणात्मक छ ।

समीक्षा अवधिमा समाजले २४ करोड ६५ लाख सापटी र १६ करोड ५ लाख निक्षेप संकलन गरी कुल ४४ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल २ करोड २८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको समाजको जगेडा कोषमा २ करोड ९७ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिमा समाजको प्रतिसेयर आम्दानी २२.४५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२९.९७ रुपैयाँ र खराब कर्जा ४.८२ प्रतिशत छ ।

माण्डु हाइड्रोपावरको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

माण्डु हाइड्रोपावरको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

सुनको मूल्यले फेरि बनायो हालसम्मकै महँगोको नयाँ रेकर्ड Read Next

सुनको मूल्यले फेरि बनायो हालसम्मकै महँगोको नयाँ रेकर्ड