राजस्व परिचालन रणनीति जारी, ५ वर्षमा यसरी गरिँदै छ करको दायरा विस्तार

काठमाडौं । सरकारले आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ जारी गरेको छ । आर्थिक वर्ष २०८१/८२ देखि आर्थिक वर्ष २०८५/८६ सम्मका लागि मध्यमकालीन राजस्व परिचालन रणनीति जारी भएको हो ।

राजस्व परिचालन रणनीति मुलुकको कर प्रणाली र प्रशासन सुधारका लागि १६औँ आवधिक योजनासँग समन्वय हुनेगरी तयार पारिएको अर्थ मन्त्रालयले जनाएको छ । यो रणनीतिले अर्थ-सामाजिक विकासका लागि आवश्यक राजस्व परिचालन र निजी क्षेत्र तथा करदाताको आकाङ्क्षाबीच सन्तुलन कायम गर्ने विश्वास सरकारको छ ।

आन्तरिक राजस्व परिचालन रणनीतिले देशको कर नीति र प्रशासनमा सुधारका लागि स्पष्ट संरचनागत रूपरेखा प्रस्तुत गरेको अर्थ मन्त्रालयले जनाएको छ । यो रणनीतिको मुख्य उद्देश्य आर्थिक दक्षता र समानतालाई प्रवर्द्धन गर्दै निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नुका साथै कर र गैरकर राजस्वको स्थिर प्रवाह सुनिश्चित रहेको रणनीतिमा उल्लेख छ । सरकारको कोषमा स्थायित्व कायम राख्दै बजेट घाटालाई व्यवस्थापन गर्न पनि योगदान पुर्याउने अपेक्षा रणनीतिमार्फत गरिएको छ ।

सरकारी कोषलाई सुदृढ बनाउन आन्तरिक स्रोतबाट राजस्व परिचालन वृद्धि गर्नु, कर कानुन र सञ्चालन प्रणालीहरूसँग करदाताहरूको स्वेच्छिक परिपालना, कर र भन्सार प्रशासनको जोखिम व्यवस्थापन क्षमता सुदृढ गर्ने, कर र भन्सार प्रशासनमा स्वचालित बनाउनुलगायत रणनीतिका उद्देश्य छन् । कर नीति निर्माण र कार्यान्वयनका लागि अन्तर-सरकारी र अन्तर-सङ्गठनात्मक समन्वय तथा सहकार्य बढाउनका रणनीति जारी भएको हो । सरकारले सबै आम्दानीका स्रोतलाई समावेश गर्दै प्रगतिशील करका दरसहितको कर प्रणालीलाई सुरु गर्ने उद्देश्य रणनीतिमा छ ।

कर राजस्व र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुपातलाई सोह्रौँ पञ्चवर्षीय योजनाले निर्धारण गरेका राजस्व लक्ष्यसँग समन्वय गर्दै लगिने रणनीतिमा उल्लेख छ । आर्थिक वर्ष २०७९/८० (२०२२/२३) मा १८.९ प्रतिशत रहेको राजस्व-जीडीपी अनुपातलाई आव २०८५/८६ (२०२८/२९)को अन्त्यसम्म २३.५ प्रतिशत पुर्याउने महत्वाकाङ्क्षी लक्ष्य रणनीतिमा समावेश छ । यो अवधिमा कर राजस्व र जीडीपी अनुपात १६.२ प्रतिशतबाट बढेर २०.९ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । रणनीतिमा समाविष्ट कार्ययोजना तथा राजस्व सुधारका उपायको कार्यान्वयनबाट कर राजस्व-जीडीपी अनुपातमा थप २.४ प्रतिशतको वृद्धि हुने अपेक्षा गरिएको छ ।

यसैगरी, कर र भन्सार प्रशासनमा सुधारबाट थप ०.१ प्रतिशत कर राजस्व सङ्कलन हुने अपेक्षा गरिएको छ । आव २०७९/८० (२०२२/२३) मा ७.२ प्रतिशत रहेको बजेट घाटा-जीडीपी अनुपातलाई घटाएर रणनीति कार्यान्वयनको अन्तिम वर्ष ६.५ प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ ।

मूल्य अभिवृद्धि कर (भ्याट) ले राजस्व संकलनमा ठूलो योगदान पुर्‍याउने हुँदा यसलाई थप सुदृढ पार्ने उल्लेख गरिएको छ। डिआरएमएसले जिडिपीको तुलनामा भ्याट अनुपातलाई ६.२ प्रतिशतमा पुर्‍याउने लक्ष्य राखेको छ, हाल यो अनुपात ५.४ प्रतिशत छ। यसका लागि, भ्याट प्रणालीलाई थप प्रभावकारी बनाउने र कर छल्न खोज्नेहरूलाई कानूनी कारबाही गर्ने रणनीति अघि सारिएको छ।

कर्पोरेट कर प्रणालीलाई लगानीमैत्री बनाउँदै यसको जीडीपी अनुपात ३.२ प्रतिशत पुर्‍याउने उल्लेख गरिएको छ। हाल यो अनुपात २.२ प्रतिशत रहेको छ। कर्पोरेट कर संरचनालाई व्यवसायहरूका लागि सरल बनाउने र विदेशी लगानीलाई आकर्षित गर्ने उल्लेख डीआरएमएसले गरेको छ।

मुलुकको समग्र कर नीति, प्रशासन, शासन संरचना, संस्थागत संरचना, नीति कार्यान्वयन संयन्त्र, अनुगमन तथा मूल्याङ्कन प्रणालीको सुधार र पुनःसंरचनाका लागि व्यवस्थित खाकाका रुपमा रणनीति जारी भएको हो ।

सुनको मूल्यले बनायो हालसम्मकै महँगोको रेकर्ड Read Previous

सुनको मूल्यले बनायो हालसम्मकै महँगोको रेकर्ड

नदी मापदण्डमा एमालेले अवसरवादी चरित्र देखायो, ५ वर्षअघि किन चुप बसेको : बालेन Read Next

नदी मापदण्डमा एमालेले अवसरवादी चरित्र देखायो, ५ वर्षअघि किन चुप बसेको : बालेन