काठमाडौं । सरकारले चाडपर्वका अवसरमा चिनीको अभाव हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छुट दिई ३० हजार मेट्रिकटन चिनी आयात गर्न स्वीकृति दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ र खाद्यलाई १५/१५ हजार मेट्रिकटन चिनी आयात गर्दा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दसैँ, तिहार तथा छट पर्वमा चिनीको अभाव हुन नदिने उद्देश्यका साथ सरकारी स्वामित्वका दुई कम्पनीलाई भन्सार छुटमा चिनी आयात गर्न स्वीकृति दिइएको जानकारी दिए ।
हाल चिनी आयातमा ३० प्रतिशत भन्सार महसुल, १३ प्रतिशत भ्याट र ५ प्रतिशत भुक्तानी कर तिर्नुपर्छ ।
निजी व्यापारीले आयात गर्न नसकेपछि सरकारी कम्पनीलाई छुटमा आयात अनुमति दिइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।चाडवाड नजकिएसँगै व्यापारीहरुले कृत्रिम अभाव गराई चिनीको मूल्य बढाउने गरेका छन् ।