काठमाडौं । निर्जीवन बीमा व्यवसायमा सुधार आएको छ । गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको साउनमा निर्जीवन बीमा कम्पनीको प्रिमियम संकलन ८.१७ प्रतिशतले बढेको हो ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आवको साउनमा १४ निर्जीवन र ४ निर्जीवन लघु बीमा गरी १८ कम्पनीले ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ३२ करोड ५७ लाख रुपैयाँ धेरै हो । गत वर्ष साउनमा निर्जीवन बीमा कम्पनीले कुल ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।
चालु आवको साउनमा १४ निर्जीवन बीमा कम्पनीले कुल ४ अर्ब २६ करोड रुपैयाँ र ४ निर्जीवन लघुबीमा कम्पनीले ६ करोड ७७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
चालु आवको साउनमा निर्जीवन बीमा कम्पनीहरुले कुल २ लाख ४१ हजार ३१४ वटा पोलिसी बिक्री गरेका छन् । यो गत वर्षको साउनकोभन्दा २७ हजार ४८६ वटा धेरै हो । गत वर्ष साउनमा २ लाख १३ हजार ८२८ वटा पोलिसी बिक्री गरेका थिए ।
पछिल्लो समय अर्थतन्त्रमा क्रमशः सुधार देखिन थालेसँगै निर्जीवन बीमा व्यवसायमा पनि सुधार आएको हो । गत वर्ष माघसम्म घट्दो क्रममा रहेको निर्जीवन बीमा व्यवसायमा फागुनदेखि क्रमशः सुधार हुँदै आएको छ ।
सरकार र नेपाल राष्ट्र बैंकको प्रयास र नीतिगत लचकताका कारण पछिल्ला महिनाहरूमा अर्थतन्त्र चलायमान हुँदै गएको छ । जसको सकारात्मक प्रभाव बीमा व्यवसायमा पनि देखिएको हो ।
मुख्यगरी निर्जीवन बीमा व्यवसायको एकतिहाई हिस्सा ओगट्ने सवारीसाधनको बिक्रीमा सुधार आउँदा समग्र बीमा व्यवसायमा सुधार आएको हो ।
सगरमाथाले शिखरलाई उछिन्यो
निर्जीवन बीमा व्यवसायमा आफ्नो वर्चश्व राख्दै आएको शिखरलाई यसपटक सगरमाथा लुम्बिनी (सलिको)इन्स्योरेन्सले उछिनेको छ । साउनमा सलिकोले सबैभन्दा धेरै ६३ करोड १५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो शिखरकोभन्दा २६ करोड २७ लाख रुपैयाँ धेरै हो ।
त्यस्तै, सिद्धार्थ प्रिमियरले पनि व्यवसायमा शिखरलाई उछिनेको छ । ४५ करोड ३२ लाख बीमा शुलक उठाउँदै सिद्धार्थ प्रिमियर दोस्रो धेरै व्यवसाय गर्ने कम्पनी बनेको छ ।
विगतमा व्यवसायमा पहिलो स्थानमा रहँदै आएको शिखर साउनमा तेस्रो स्थानमा पुगेको छ । शिखरले ३६ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
साउनमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३२ करोड ६० लाख, नेकोले ३१ करोड ८८ लाख, आइजीआइ प्रुडेन्सियलले ३० करोड ६२ लाख, ओरिएण्टलले २९ करोड १० लाख, नेपालले २८ करोड ८६ लाख, राष्ट्रिय बीमा कम्पनीले २५ करोड ४६ लाख, यूनाइटेड अजोडले २५ करोड ४१ लाख र एनएलजीले २४ करोड ९८ लाख, नेशनलले २२ करोड ७६ लाख र सानिमा जीआइसीले १८ करोड ३९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
साउनमा प्रभु इन्स्योरेन्सले सबैभन्दा कम १० करोड ५४ लाख रुपैयाँ मात्र बीमा शुल्क संकलन गरेको छ ।
व्यवसाय बढाउँदै लघुबीमा कम्पनी
लघुबीमा कम्पनीहरुले पनि आफ्नो व्यवसाय बढाउँदै लगेका छन् । गत असारसम्म कुल निर्जीवन बीमा व्यवसायमा लघुबीमा कम्पनीहरूको हिस्सा १ प्रतिशतभन्दा कम रहँदै आएकोमा चालु आवको साउनमा १ प्रतिशत माथि पुर्याएका छन् ।
४ निर्जीवन लघुबीमा कम्पनीले साउनमा ५ करोड १६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो कुल निर्जीवन बीमा व्यवसायको १.२० प्रतिशत हो ।
अघिल्लो वर्षदेखि संचालनमा आएका लघुबीमा कम्पनीहरुले क्रमशः आफ्नो व्यवसाय बढाउँदै लगेका हुन् । साउनमा नेपाल माइक्रो इन्स्योरेन्सले १ करोड ३८ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १ करोड ३६ लाख, स्टार माइक्रो इन्स्योरेन्सले १ करोड १८ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले १ करोड २२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
सम्पत्ति र मोटर बीमाको हिस्सा धेरै
साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले सबैभन्दा धेरै प्रिमियम सम्पत्ति र मोटर बीमाबाट संकलन गरेका छन् । साउनमा सम्पत्ति बीमाबाट मात्रै १ अर्ब ४२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
यस्तै, साउनमा मोटर बीमाबाट १ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन । साउनमा १ लाख १२ हजार ८६५ वटा मोटर बीमा लेख जारी भएका छन ।
यसैगरी साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले विविध बीमा बापत ५५ करोड ६४ लाख रुपैयाँ, इन्जिनीयरिङ बीमाबाट ५० करोड २८ लाख, सामुन्द्रिक बीमाबाट २९ करोड ४४ लाख, कृषि बीमाबाट २० करोड १९ लाख, लघु बीमाबाट ५ करोड ३१ लाख तथा हवाई बीमाबाट ५ करोड १८ लाख बीमा शुल्क संकलन गरेका छन् ।