नबिल बैंकको अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । नबिल बैंकको विशेष साधारणसभाले अग्राधिकार सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा भदौ १७ गते बसेको साधरण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्न लागेको हो

बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजी (टायर १ क्यापिटल)को माध्यमबाट पूँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले अग्राधिकार सेयर जारी गर्न लागिएको बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष पौडेलले बैंकलाई यो उचाइमा पुर्याउनमा शेयरधनी लगायत सरोकारवाला पक्षहरूबाट विगत लामो समयदेखि सराहनीय योगदान प्राप्त भए जस्तै यस उपकरणलाई सार्थक तथा सफल बनाउने कार्यमा सहयोगको अपेक्षा गरेको बताए ।

आगामी वर्षहरूमा समेत आ-आफ्नो स्थानबाट बैंकको उचाइलाई थप बढाउनेतर्फ शेयरधनी लगायत सरोकारवाला पक्षहरूको महत्वपूर्ण योगदान रहनेछ भन्नेमा पनि बैंक विश्वस्त रहेको उनले सभामा जानकारी गराए ।

सभाले पारित गरेको नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरको मताधिकार नहुने भएकोले वर्तमान सेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानिकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिनेछ ।

साथै यो नेपाली पूँजी बजारका लागि नविनतम् पूँजी उपकरण भएकाले नेपाल राष्ट्र बैंकले यस सम्बन्धी व्यवस्था गरेपछि नबिल बैंकले नै पहिलो पटक विशेष साधारणसभाबाट पारित गरेर जारी गर्न लागेको हो । सम्बन्धित नियामकीय निकायहरूको अन्तिम स्वीकृति पश्चात् कुनै संशोधन वा थप परिमार्जन आवश्यक भएमा सो समेत गरी ‘अग्राधिकार सेयर’ जारी हुनेछ ।

समाजिक उत्तरदायित्वमा समेत नबिल बैंक अघि रहेको तथा बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेको समेत अध्यक्ष पौडेलले बताए ।

नबिल बैंकले हाल देशभरका २६८ वटा शाखा र ३१६ वटा एटीएममार्फत २४ लाख भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।

ह्याविट्याट पावरले आइपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त Read Previous

ह्याविट्याट पावरले आइपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

कतार एयरवेजको रणनीति नेपाल एयरलाइन्सले अनुशरण गर्नुपर्नेमा जोड Read Next

कतार एयरवेजको रणनीति नेपाल एयरलाइन्सले अनुशरण गर्नुपर्नेमा जोड