सर्वसाधरणले आफ्नो पैसा राख्न कुन बैंकलाई गर्छन् धेरै विश्वास ?

काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम बढ्दो छ । गत आर्थिक वर्षको सुरूदेखि बैंकमा नै लगातार निक्षेप थपिरहेको छ । रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि हुनु, आयात घट्नु लगायत कारणले निक्षेप एकोहोरो बढिरहेको हो ।

हाल बैंकिङ प्रणालीमा कुल निक्षेप ६४ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ भने लगानी योग्य रकम (तरलता) साढे ६ खर्ब रुपैयाँ बढी छ । यद्यपि, निक्षेप बढे पनि सोही अनुपातमा कर्जा लगानी भने बढ्न सकेको छैन ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा निक्षेप वृद्धिदर १३ प्रतिशत रहेको छ भने कर्जाको वृद्धिदर ५.३ प्रतिशत मात्रै छ । राष्ट्र बैंकले निजी क्षेत्र तर्फ ११.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखे पनि आधा मात्रै हासिल भएको थियो । गत वर्ष बैंक तथा वित्तीय संस्थाहरूले कुल ७ खर्ब ४२ अर्ब निक्षेप संकलन गरी २ खर्ब ७७ अर्ब कर्जा लगानी गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्न आवश्यक रकम निक्षेपमार्फत संकलन गर्छन् । बैंकहरूले निक्षेप व्यक्तिगत र संस्थागत रुपमा संकलन गर्छन् । बैंकहरूले धेरै ब्याजदर दिएर निक्षेपकर्तालाई आकर्षित गर्छन् । यद्यपि, धेरै ब्याजदर दिँदैमा निक्षेप आउँछ भन्ने छैन । निक्षेपकर्ताले आफ्नो विश्वासका आधारमा थोरै ब्याजदर दिने बैंकमा पनि राख्छन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा कुल निक्षेपमा व्यक्तिगत निक्षेपको हिस्सा आधा बढी छ । असारसम्म कुल निक्षेपमा व्यक्तिगत निक्षेपको हिस्सा ६१ प्रतिशत र संस्थागत निक्षेप ३९ प्रतिशत छ ।

असारसम्म वाणिज्य बैंकहरूको मात्रै कुल निक्षेप ५७ खर्ब ५६ करोड रुपैयाँ रहेकोमा सर्वसारधणको पैसा मात्रै ३५ खर्ब २० अर्ब रुपैयाँ छ । संस्थागत र अन्य निक्षेपकर्ताको २२ खर्ब ३५ अर्ब रुपैयाँ छ ।

कुन बैंकमा व्यक्तिगत निक्षेपको हिस्सा कति ?

सामान्यतया बैंकहरूको कुल निक्षेपमा व्यक्तिगत निक्षेपको हिस्साका आधारमा सर्वसाधरणले कति विश्वास गरेका छन् भन्ने हेरिन्छ । अर्थात् जुन बैंकमा व्यक्तिगत निक्षेपको हिस्सा धेरै छ, त्यो बैंकप्रति सर्वसाधरणको विश्वास धेरै रहेको बुझिन्छ ।

असारसम्म सरकारी स्वामित्वको नेपाल बैंकप्रति सर्वसाधरणको सबैभन्दा धेरै विश्वास रहेको देखिन्छ । अर्थात् बैंकहरूको कुल निक्षेपमा व्यक्तिगत निक्षेपको हिस्सा नेपाल बैंकमा सबैभन्दा धेरै छ ।

कुल २ खर्ब ८३ अर्ब निक्षेप रहेको नेपाल बैंकमा २ खर्ब २६ अर्ब रुपैयाँ व्यक्तिगत निक्षेप छ । यो बैंकको कुल निक्षेपको ७९.७७ प्रतिशत हो । नेपाल बैंकमा संस्थागत निक्षेपकर्ताको पैसा ५७ अर्ब ३५ करोड रुपैयाँ मात्रै छ ।

त्यस्तै, सर्वसाधरणको दोस्रो धेरै विश्वास माछापुच्छ्रे बैंक । देखिन्छ । कुल १ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप रहेको माछापुच्छ्रेमा व्यक्तिगत निक्षेपको हस्सिा ७१.९८ प्रतिशत अर्थात् १ अर्ब १६ अर्ब रुपैयाँ छ ।

त्यसैगरी, सिटिजन्स बैंकमा व्यक्तिगत निक्षेपको हिस्सा ६८.५१ प्रतिशत रहेको छ । कुल १ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप रहेको सिटिजनमा सर्वसाधरणको निक्षेप १ खर्ब ३१ अर्ब रुपैयाँ छ ।

त्यस्तै, ग्लोबल आइएमई र लक्ष्मी सनराइज बैंकमा सर्वसाधरणको निक्षेप ६८ प्रतिशत बढी छ । कुल ५ खर्ब ४ अर्ब निक्षेप रहेको ग्लोबलमा व्यक्तिगत निक्षेप ३ खर्ब ३४ अर्ब रुपैयाँ छ । रकमका आधारमा ग्लोबलमा सबैभन्दा धेरै व्यक्तिगत पैसा छ । त्यस्तै, ३ खर्ब ३३ अर्ब निक्षेप रहको लक्ष्मी सनराइजमा २ खर्ब २० अर्ब रुपैयाँ सर्वसाधरणको पैसा छ ।

त्यस्तै, सानिमा, राष्ट्रिय वाणिज्य, सिद्धार्थ, एनएमबी, कृषि विकास, एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा व्यक्तिगत निक्षेपको हिस्सा ६० प्रतिशत बढी रहेको छ ।

तुलनात्मक रुपमा ठूला भनिने नबिल, कुमारी, एनआइसी एशिया, प्राइम कमर्शियल बैंकमा व्यक्तिगत निक्षेपको हिस्सा कम छ । यी बैंकहरूमा सर्वसाधरणको निक्षेप हिस्सा औसतभन्दा कम छ ।

वाणिज्य बैंकमध्ये नेपाल एसबीआइ र हिमालयन बैंकमा सर्वसाधरणको निक्षेप सबैभन्दा कम छ । यी बैंकको कुल निक्षेपमा व्यक्तिगत निक्षेपको हिस्सा आधा मात्रै छ ।

एसबीआइमा सर्वसाधरणको पैसा सबैभन्दा कम अर्थात् ५०.८६ प्रतिशत मात्रै छ । कुल १ खर्ब ७५ अर्ब निक्षेप रहेको यस बैंकमा सर्वसाधरणको ८९ अर्ब २१ करोड रुपैयाँ मात्रै छ । त्यस्तै, हिमालयनमा सर्वसाधरणको निक्षेपको हिस्सा ५२.०२ प्रतिशत मात्रै छ ।

नर्वेले विद्युतीय कार बिक्रीमा बनायो कीर्तिमान, बजार हिस्सा ९४ प्रतिशत पुग्यो Read Previous

नर्वेले विद्युतीय कार बिक्रीमा बनायो कीर्तिमान, बजार हिस्सा ९४ प्रतिशत पुग्यो

सुपरमाइ हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

सुपरमाइ हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?