तल्लो अरुण हाइड्रोपावर बनाउन १.४० अर्ब मुआब्जा बाँडिने, २६८ परिवार प्रभावित हुने

खाँदबारी । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट २६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् ।

निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ ।

‘यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण हुनेछ,’ तल्लो अरुण पावरडेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी निर्देशक अरुण धिमानले भने ।

प्रभावित स्थानीयलाई करिब १ अर्ब ४० करोड रुपैयाँँ रकम मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ । तल्लो अरुण बन्ने पक्का भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग निर्माणकर्ता भारतीय सतलज कम्पनीले छलफल अघि बढाएको छ ।

९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका-२ चेवाबेसीमा करिब १७.४ किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो । भारतीय कम्पनी सतलजले नै अहिले ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

सानिमा क्यापिटलका तीन म्युचुअल फण्डको लाभांश घोषणा Read Previous

सानिमा क्यापिटलका तीन म्युचुअल फण्डको लाभांश घोषणा

एनएमबी बैंकले ३ अर्बको अग्राधिकार सेयर जारी गर्ने, ८.५% लाभांश दिने Read Next

एनएमबी बैंकले ३ अर्बको अग्राधिकार सेयर जारी गर्ने, ८.५% लाभांश दिने