मुग्लिन-पोखरा सडककाे पश्चिमखण्डकाे कामको गति बढ्दै, ‘ब्याककटिङ’ ९५% सकियाे

दमौली । निर्माणाधीन मुग्लिन–पोखरा सडक आयोजनाको पश्चिम खण्डमा २० किलोमिटर दुई लेनको सडक कालोपत्र सकिएको छ । तनहुँको जामुनेबाट पोखरासम्मको पश्चिम खण्डमा गत आर्थिक वर्षमा दुई लेनको २० किलोमिटर सडक कालोपत्र सकिएको हो ।

.मुग्लिन-पोखरा सडक आयोजना कार्यालयले गत आवमा १० किमी कालोपत्र गर्ने लक्ष्य राखेकामा लक्ष्य बमोजिमको काम सम्पन्न गरेको आयोजनाको पश्चिम खण्डका इञ्जिनियर नारायण पौडेलले जानकारी दिए।

पश्चिम खण्डअन्तर्गत म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र पोखरा महानगरपालिका पर्दछन् । पौडेलका अनुसार सोही अवधिमा ०.५ किमी ‘ट्र्याक’ चौडा गर्ने काम भएको छ भने ९५ प्रतिशत ‘ब्याककटिङ’ सम्पन्न भएको छ । सोही अवधिमा ११ पुल निर्माण गर्ने लक्ष्य रहेकामा ५ वटा सम्पन्न भएका पौडेलले जानकारी दिए । निर्माण गर्नुपर्ने १३ पुलमध्ये आठ पुलको सुपर स्ट्रक्चरको निर्माण सम्पन्न भइसकेको उनको भनाइ छ ।

विगत केही समय पश्चिम खण्डमा न्यून प्रगति भएको अवस्थामा अहिले कामको गति बढेको छ । गत आवमा आयोजना कार्यालयको पहलमा निर्माणसँग सरोकार भएका निकायको साथ र सहयोगले सडक स्तरोन्नतिको भौतिक प्रगति ९ बाट २८ प्रतिशत पुगेको पौडेलले जानकारी दिए ।

‘नेपालको अधिक वर्षा हुने क्षेत्रमा अवस्थित यस राजमार्गको स्तरोन्नति कार्यको सुरु डिजाइनमा सडकको सानो बफर क्षेत्रको मात्र गर्ने योजना बनाइएकामा सडकको अवस्था र चाप तथा नयाँ निर्माण भएको विमानस्थललाई दृष्टिगत गरी जामुनुबाट सेती पुलसम्मको डिजाइन परिवर्तन गरिएको छ,’ इञ्जिनियर पौडेलले भने।

सडकको स्तरोन्नति हुने क्षेत्रभित्र रहेका २४ वटा खानेपानी संस्थासँग सम्बन्धित पाइप लाइन तथा संरचनाहरु स्थानान्तरणका लागि सम्झौता भई सम्बन्धित उपभोक्ताबाट स्थानान्तरणको काम भइरहेको उनले उल्लेख गरे ।

आयोजना कार्यालयले लागत बेहोर्ने गरी नेपाल विद्युत् प्राधिकरणका निकायमार्फत विद्युत् पोल स्थानान्तरण गर्न जिल्ला प्रशासन कार्यालय, विद्युत्सम्बन्धी सरोकार भएका निकायको समन्वयमा स्थानान्तरण गर्नुपर्ने २ हजार ३१ पोलमध्ये १ हजार २३६ स्थानान्तरण भइसकेको पौडेलले बताए ।

पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।रासस

नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त Read Previous

नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

डेडिकेटेड र ट्रंक लाइनमा एमाले र माओवादी आमनेसामने, आरोप-प्रत्यारोपमा रमाउँदै Read Next

डेडिकेटेड र ट्रंक लाइनमा एमाले र माओवादी आमनेसामने, आरोप-प्रत्यारोपमा रमाउँदै