अटो शोमा गाडी किन्न नबिल बैंकले ८.२५ प्रतिशतमै ऋण दिने

काठमाडौं । नबिल बैंकले नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ ।

बैंकले काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि चलिरहेको अटो शोलाई लक्षित गर्दै सस्तो ब्याजको कर्जा योजना ल्याएको छ ।

यस योजना अन्तर्गत बैंकले सवारीसाधन खरिद गर्न चाहनेलाई ५ वर्षका लागि ८.२५ प्रतिशत र ७ वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउने छ ।

यसले अटो मोबाइल खरिद गर्न चाहने ग्राहकहरूलाई दीर्घकालसम्म सुलभ र स्थिर वित्तीय सहायता उपलब्ध गराउन मद्दत पुर्याउने बैंकको विश्वास छ ।

ग्राहकहरूको सुविधाका लागि नबिल बैंकले नाडा शोका क्रममा स्टल नम्बर ई १९मा छुट्टै सेवा केन्द्र राखेको छ ।

शोमा सहभागी हुने ग्राहकहरूले गाडी छनोट गरी कर्जाको लागि अफर लेटर तुरुन्तै उपलब्ध गराइनेछ । यसका अतिरिक्त, नबिल बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षित गर्न अन्य विभिन्न अफरहरू पनि प्रस्तुत गरेको छ ।

चाडपर्वको माहौललाई ध्यानमा राख्दै नबिल बैंकले वित्तीय सहजता प्रदान गर्न र अटो मोबाइल खरिदको प्रक्रियालाई सरल बनाउन यो विशेष योजना सार्वजनिक गरेको हो ।

बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

धुलिखेल नेपालको पहिलो ‘स्वस्थ सहर’ घोषणा Read Previous

धुलिखेल नेपालको पहिलो ‘स्वस्थ सहर’ घोषणा

माछापुच्छ्रे बैंकले घर र गाडी किन्न ०.५ प्रतिशत प्रिमियममै कर्जा दिने Read Next

माछापुच्छ्रे बैंकले घर र गाडी किन्न ०.५ प्रतिशत प्रिमियममै कर्जा दिने